नवलपरासी, मंसिर १३ ।
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम कम गर्ने उद्देश्यले नवलपरासीमा आयुर्वेदिक औषधि ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सुरु गरिएको छ । नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा मंसिर १३ गते बिहान एक समारोहका बीच लुम्बिनी प्रदेश सभा सदस्य माननीय बैजनाथ जैसवालले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जैसवालले विगतमा खोपको पर्याप्त व्यवस्था नहुँदा बालबालिकाहरूले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्मरण गर्नुभयो । पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा पाँच वर्षमुनिका बालबालिकाहरूलाई नियमित खोप उपलब्ध गराउन थालिएपछि बाल स्वास्थ्यमा उल्लेख्य सुधार आएको उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रकी डा. अर्चना शुक्लाका अनुसार जिल्लाका १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी यो औषधि खुवाउन थालिएको हो । आयुर्वेदिक मान्यताअनुसार ‘पुष्य नक्षत्र’ का दिन मात्र यो औषधि खुवाउनुपर्ने भएकाले पात्रोअनुसार मिति तय गरिएको डा. शुक्लाले जानकारी दिनुभयो । औषधि खुवाइने तालिका र समय
सार्वजनिक गरिएको तालिकाअनुसार २०८४ वैशाख महिनामा दुई दिन र अन्य सात महिनामा प्रत्येक महिनाको एक–एक दिन गरी कुल नौ दिन औषधि खुवाइने छ । जसअनुसार मंसिर १३, पुस ११, माघ ९, फागुन ७ र चैत ४ गते औषधि खुवाइने छ । त्यसैगरी आगामी वैशाख २ र २९ गते, जेठ २५ गते तथा असार २१ गते कार्यक्रम सञ्चालन गरिने छ ।थोपाका रूपमा दिइने यो औषधि सोही दिन ताजा तयार गर्नुपर्ने भएकाले परासीस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमै बिहान ७ बजेदेखि १० बजेसम्म खुवाइने डा. शुक्लाले बताउनुभयो ।

