27.2 C
Parāsi
Wednesday, August 5, 2026
spot_img

पाल्हीनन्दन गाउँपालिकामा कार्यवाहक अध्यक्ष र उपाध्यक्षले गरे पदभार ग्रहण

 

परासी, नवलपरासी। नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा कार्यवाहक अध्यक्ष र कार्यवाहक उपाध्यक्षले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि शुक्रबार बसेको कार्यपालिका बैठकले बहुमतका आधारमा वडा नम्बर ६ का अध्यक्ष कृष्णचन्द्र यादवलाई कार्यवाहक अध्यक्ष तथा कार्यपालिका सदस्य अनामिकादेवी हरिजनलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको थियो। निर्णयअनुसार आज दुवैले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष यादवले सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सल्लाह, सुझाव र सहकार्यमा पालिकाको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले कुनै समस्या वा कमी–कमजोरी देखिए सबै पक्षसँग छलफल गरेर समाधान खोजिने बताए।

त्यसैगरी कार्यवाहक उपाध्यक्ष हरिजनले पालिकाको बाँकी कार्यकाल सफल बनाउन सबैको साथ, सहयोग, सल्लाह र सुझाव आवश्यक रहेको उल्लेख गर्दै समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता जनाइन्।

यसअघि गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

यस्तै उपाध्यक्ष फातिमा खातुन अन्सारी असार ९ गते पदमुक्त भएकी थिइन्। प्रतिनिधिसभा निर्वाचनका क्रममा अन्य दलका उम्मेदवारको पक्षमा मत मागेको आरोपमा उनी निर्वाचित दल नेपाली कांग्रेसको सिफारिसमा निर्वाचन आयोगबाट पदमुक्त भएकी हुन्।

 

थप समाचार

ताजा खबर