
परासी, साउन — नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित डा. विनोद नीता कण्डेल आँखा अस्पताल, रामग्राम–३, नवलपरासी (पश्चिम) ले आर्थिक वर्ष २०८२/८३ मा ५५ हजारभन्दा बढी नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ।
अस्पतालका अनुसार समीक्षा अवधिमा अस्पताल सेवा, विद्यालय आँखा परीक्षण, निःशुल्क ग्रामीण आँखा शिविर तथा आँखा उपचार केन्द्रमार्फत कुल ५५ हजार ३०५ जना सेवाग्राही लाभान्वित भएका छन्।
यस अवधिमा अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ३९ हजार १२३ जना बिरामीले उपचार तथा परामर्श प्राप्त गरेका छन्। त्यस्तै, विद्यालय आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत २७ वटा विद्यालयमा सञ्चालन गरिएको आँखा परीक्षणबाट ७ हजार ६०८ जना विद्यार्थी लाभान्वित भएका छन्।
ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालन गरिएका २१ वटा निःशुल्क आँखा शिविर (DST) मार्फत ५ हजार ४८ जना नागरिकले विशेषज्ञ आँखा सेवा प्राप्त गरेका छन्। साथै, अस्पतालअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र (ECC) हरूमार्फत ३ हजार ५२६ जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।
सन् १९८९ मा स्थापना भई सन् २००७ मा माध्यमिक तहको आँखा अस्पतालमा स्तरोन्नति भएको डा. विनोद नीता कण्डेल आँखा अस्पतालले विगत ३६ वर्षभन्दा बढी समयदेखि नवलपरासी (पश्चिम) सहित आसपासका जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रका नागरिकलाई विशेषज्ञ र सुलभ आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले मोतिबिन्दु शल्यक्रिया, रेटिना तथा भिट्रियो–रेटिना सेवा, ग्लुकोमा उपचार, बाल आँखा सेवा, न्यून दृष्टि पुनःस्थापना सेवा, अप्टिकल, फार्मेसी तथा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
समुदायस्तरमै आँखा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले अस्पतालले नियमित रूपमा ग्रामीण आँखा शिविर, विद्यालय आँखा परीक्षण, जनचेतनामूलक कार्यक्रम तथा आँखा उपचार केन्द्रमार्फत सेवा विस्तार गरिरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँगको सहकार्यमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने अभियानलाई पनि निरन्तरता दिइएको अस्पतालले जनाएको छ।
अस्पताल व्यवस्थापनका अनुसार आर्थिक वर्ष २०८२/८३ को यो उपलब्धि चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सहयोगी संस्था, स्थानीय सरकार, सामुदायिक विद्यालय, स्थानीय समुदाय तथा सेवाग्राहीहरूको विश्वास र सहकार्यको परिणाम हो। आगामी दिनमा आधुनिक प्रविधि, विशेषज्ञ सेवा र ग्रामीण पहुँचलाई थप विस्तार गर्दै “रोकथाम गर्न सकिने अन्धोपनमुक्त समाज” निर्माण गर्ने प्रतिबद्धता अस्पतालले दोहोर्याएको छ।

