32.6 C
Parāsi
Monday, August 31, 2026
spot_img

६० हजारलाई आँखा सेवा पुर्‍याउने लक्ष्यसहित डा. विनोद निता कण्डेल आँखा अस्पतालको वार्षिक समीक्षा सम्पन्न

परासी, १३ भदौ २०८३। नेपाल नेत्र ज्योति संघ, डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले आर्थिक वर्ष २०८२/८३ का सेवा, उपलब्धि तथा सिकाइहरूको समीक्षा गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि ६० हजार जनासम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ।

अस्पतालले आगामी आर्थिक वर्षमा करिब ७ हजार सर्वसुलभ तथा सहुलियतपूर्ण आँखा शल्यक्रिया गर्ने लक्ष्यसमेत लिएको छ। सेवा विस्तारसँगै गुणस्तरीय उपचार, समुदायमा पहुँच तथा विशिष्टीकृत आँखा सेवाको विकासलाई प्राथमिकतामा राखिएको अस्पतालले जनाएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल नेत्र ज्योति संघ, नवलपरासी शाखाका सभापति देवेन्द्र राज कण्डेलले गर्नुभएको थियो भने लुम्बिनी प्रदेशसभा सदस्य माननीय बैजनाथ कलवार प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यसमितिका सह–कोषाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मञ्जु कण्डेल, लुम्बिनी नेत्रालय, भैरहवाका Managing Director हिरा बहादुर शाह, Outreach Director तथा Cornea विशेषज्ञ डा. ज्योति सापकोटालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल नेत्र ज्योति संघका सह–सचिव अनिल उपाध्यायले गर्नुभएको थियो।

यसै अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य माननीय बैजनाथ कलवारज्यूको क्षेत्र विकास कार्यक्रमअन्तर्गत रु. २० लाखको लागतमा नवनिर्मित भवनको समुद्घाटन समेत गरिएको छ। नवनिर्मित भवनको उद्घाटन प्रदेशसभा सदस्य कलवारकै करकमलबाट सम्पन्न भएको हो।

वार्षिक समीक्षामा आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले कुल ५५ हजार ३०७ जनासम्म आँखा स्वास्थ्य सेवा पुर्‍याएको जानकारी दिइयो। जसमा ३९ हजार १२५ जना अस्पताल ओपीडी, ५ हजार ४८ जना DST Outreach, ७ हजार ६०८ विद्यार्थीको विद्यालय आँखा परीक्षण तथा ३ हजार ५२६ जना आँखा उपचार केन्द्रबाट लाभान्वित भएका थिए।

सो अवधिमा अस्पतालमा २ हजार ४२३ वटा शल्यक्रिया सम्पन्न भएका थिए। तीमध्ये ८०७ वटा DST शल्यक्रिया, ४११ वटा स्थानीय सरकारको सहयोगमा भएका शल्यक्रिया तथा १ हजार २१८ वटा निःशुल्क शल्यक्रिया रहेका छन्। यस्तै, Seva Foundation तथा नेपाल सरकारको सहयोगमा ६१७ जना विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले पछिल्लो समय Retina सेवा विस्तार गरी नियमित सञ्चालन गरिरहेको छ। आधुनिक Phaco प्रविधिमार्फत सुई तथा टाँका नलगाई गरिने मोतीबिन्दुको शल्यक्रिया समेत दैनिक रूपमा प्रदान हुँदै आएको जनाइएको छ। आगामी दिनमा Cornea, Glaucoma तथा Pediatric Ophthalmology लगायतका Sub-specialty सेवाहरू क्रमिक रूपमा विकास गर्ने योजना अस्पतालको छ।

आगामी वर्ष नियमित अस्पताल ओपीडीमार्फत ४५ हजार र Outreach कार्यक्रममार्फत थप १५ हजार जनाको आँखा परीक्षण गर्ने लक्ष्य लिइएको छ। साथै, आर्थिक तथा भौगोलिक कारणले उपचारबाट वञ्चित हुन सक्ने बिरामीलाई समेत गुणस्तरीय शल्यक्रियाको पहुँचमा ल्याउन करिब ७ हजार सर्वसुलभ तथा सहुलियतपूर्ण शल्यक्रिया गर्ने योजना अघि सारिएको छ।

अस्पतालले समुदायबाट अस्पतालसम्मको सेवा यात्रालाई “Reach – Screen – Refer – Treat – Follow-up” अवधारणामार्फत थप प्रभावकारी बनाउने जनाएको छ। Clinical Quality, Outreach Impact, Patient Experience, Sub-specialty Service Expansion तथा Integrated Service Delivery लाई आगामी रणनीतिक प्राथमिकतामा राखिएको छ।

अस्पतालले बिरामीले सामान्य परीक्षणदेखि आवश्यक विशिष्टीकृत उपचार र फलो–अपसम्म सकेसम्म एउटै संस्थाबाट प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्दै रेफरलको आवश्यकता क्रमशः न्यून गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ।

“Better Vision, Better Lives, Brighter Future” को भावनासहित नवलपरासी तथा आसपासका समुदायमा गुणस्तरीय, पहुँचयोग्य, सर्वसुलभ तथा विशिष्टीकृत आँखा स्वास्थ्य सेवाको विस्तारलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता जनाएको छ।

थप समाचार

ताजा खबर