24.9 C
Parāsi
Saturday, November 28, 2026
spot_img

पाल्ही बहुमुखी क्याम्पसको सातौ क्याम्पस सभा ,जर्नल विमोचन र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

नवलपरासी । पाल्ही बहुमुखी क्याम्पसको सातौँ क्याम्पस सभा सङ्घीय सांसद नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकको अध्यक्षतामा सम्पन्न भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४, जितपुरस्थित पाल्ही बहुमुखी क्याम्पसले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक, अनुसन्धानमूलक जर्नल विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्याम्पसको शैक्षिक अवस्था, विद्यार्थी विवरण, भौतिक पूर्वाधार, सामुदायिक सहकार्य तथा आर्थिक वर्ष २०८३/०८४ का लागि २ करोड १८ लाख ३३ हजार रुपैयाँको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकको अध्यक्षता तथा नवलपरासी क्षेत्र नं. २ का संघीय सांसद माननीय नरेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा प्रमुख अतिथि गुप्ताले क्याम्पसद्वारा प्रकाशित प्रथम संस्करणको अनुसन्धानमूलक कृति ‘पाल्ही पिस एन्ड इनलाइटेनमेन्ट : इन्टरडिसिप्लिनरी जर्नल’ (Palhi Peace and Enlightenment : Interdisciplinary Journal) को विमोचन गर्नुभएको थियो । साथै, डा यादव प्रसाद पन्त अनुसन्धान तथा बिकाश प्रतिष्ठानको सहयोगमा क्याम्पसमा अध्ययनरत ६ जना विद्यार्थीहरूलाई ६००० को दरले छात्रवृत्तिसमेत वितरण गरिएको छ ।प्रस्तावित बजेट र प्राथमिकता
सञ्चालक समितिका अध्यक्ष पाठकद्वारा बजेटबाट प्राध्यापक तथा कर्मचारीको तलब–भत्ता, पुस्तकालय सामग्री खरिद र छात्रवृत्ति वितरणलाई प्राथमिकता दिइएको छ । यस्तै, भौतिक पूर्वाधारतर्फ बाहिरी गेटदेखि भित्री गेटसम्म पक्की बाटो निर्माण, क्याम्पस परिसरको सौन्दर्यीकरण तथा पार्किङ व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने प्रस्ताव गरिएको छ ।
ऐतिहासिक रामग्राम स्तूप क्षेत्र नजिकै २०४६ साल असोज २ गते स्थापना भएको यस सामुदायिक क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत चारवर्षे बी.एड. र बी.बी.एस. कार्यक्रम सञ्चालन गर्दै आएको छ । शैक्षिक सत्र २०८२/०८३ मा क्याम्पसमा कुल ४८५ जना विद्यार्थी अध्ययनरत छन्, जसमा छात्राको संख्या उल्लेखनीय रूपमा बढी छ । कुल विद्यार्थीमध्ये ३३९ जना छात्रा र १४६ जना छात्र रहेका छन् । कार्यक्रमगत रूपमा बी.एड.मा ३२५ र बी.बी.एस.मा १६० जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा २० जना प्राध्यापक र ६ जना कर्मचारी गरी २६ जनाको जनशक्ति कार्यरत छ ।पछिल्ला तीन आर्थिक वर्षमा स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या निरन्तर वृद्धि भइरहेको छ । उक्त क्षेत्रमा ३४ कोठासहितका पाँचवटा भवन, कम्प्युटर ल्याब, सभाहल, खेलमैदान, दुईवटा माछापोखरी तथा एउटा बस उपलब्ध छन् । पुस्तकालयमा २ हजार ९३५ वटा पुस्तक रहेका छन् ।पछिल्लो अवधिमा क्याम्पसले हासिल गरेका प्रमुख प्रगतिहरू यसप्रकार छन्:क्यूएए (QAA) प्रक्रिया: विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त गर्ने प्रक्रियाअन्तर्गत प्रथम अनुगमन भ्रमणका लागि पीआरटी (PRT) गठन भइसकेको छ ।
ग्रामीण तराई क्षेत्रमा न्यून शुल्कमा उच्च शिक्षा प्रदान गर्नुपर्ने बाध्यता, विद्यार्थीको विदेश पलायन, बीचैमा पढाइ छाड्ने (ड्रपआउट) दर बढ्नु, भोगचलनमा रहेको जग्गा क्याम्पसको नाममा दर्ता हुन नसक्नु र सञ्चालन अनुदानको अभावलाई प्रतिवेदनले मुख्य चुनौतीका रूपमा औँल्याएको छ ।यी समस्या समाधानका लागि क्याम्पसले उपभोगमा रहेको जग्गा आफ्नै नाममा दर्ता गर्ने, क्यूएए प्रमाणपत्र प्राप्त गर्न प्रक्रिया तीव्र पार्ने, विपन्न विद्यार्थीको सहयोगार्थ अक्षयकोष स्थापना गर्ने तथा आयस्रोत वृद्धिका लागि क्याम्पसको जग्गाको दुवैतर्फ सटर निर्माण गरी भाडामा लगाउने भावी कार्ययोजना अघि सारेको छ ।कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माननीय बैजनाथ जयसवालको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष राजेश यादव, क्याम्पस प्रमुख दिपक अर्याललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सञ्चालक समिति सदस्य राजेश कुमार गुप्तले सहजीकरण गर्नुभएको कार्यक्रममा वक्ताहरूले क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

थप समाचार

ताजा खबर