
नवलपरासी । सरावल गाउँपालिकाले मेला, महोत्सव, चाडपर्व तथा पूजा–आजा लगायतका कार्यक्रममा अस्वाभाविक रूपमा रु ५८,७२,२४२ बजेट खर्च गरेको भन्दै आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदनले ध्यानाकर्षण गराएको छ।
प्रतिवेदन अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, प्रभावकारिता, कार्यदक्षता र औचित्यलाई आधार बनाउनुपर्ने व्यवस्था गरेको छ। तर गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानी न्यून रहेको अवस्थामासमेत विभिन्न मेला, महोत्सव तथा पर्वका नाममा उल्लेख्य रकम खर्च गरेको पाइएको छ।
लेखापरीक्षणले गाउँपालिका तथा वडा कार्यालयमार्फत वितरणमुखी ढंगले विभिन्न मेला–महोत्सव र पर्वमा आर्थिक सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै यस्तो कार्यका लागि स्पष्ट कार्यविधि बनाई एकद्वार प्रणाली मार्फत मात्र सहयोग वितरण गर्न सुझाव दिएको छ।
प्रतिवेदनमा गाउँपालिकाको आयस्रोत कमजोर हुँदा यस्ता अनुत्पादक खर्चले थप आर्थिक भार सिर्जना गरेको उल्लेख गरिएको छ। त्यसैले आगामी दिनमा यस्ता खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिइएको छ।
लेखापरीक्षणले स्थानीय तहहरूमा अनुदान तथा सहायता वितरणमा मात्र सीमित नभई गाउँपालिका, नगरपालिका र वडा कार्यालयहरू आफैंले मेला–महोत्सव आयोजना गरेर सरकारी बजेट खर्च गर्ने प्रवृत्ति बढेको पनि औंल्याएको छ। यस्ता कार्यक्रमले कला, संस्कृति, सम्पदा तथा स्थानीय परम्पराको संरक्षणमा केही योगदान पु¥याए पनि त्यसको नाममा अस्वाभाविक खर्च गर्ने, स्वार्थ प्रेरित ढंगले रकम बाँड्ने तथा बजेट निकासा गर्ने कार्य बढ्दो रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।

