40.4 C
Parāsi
Friday, April 3, 2026
spot_img

पश्चिम नवलपरासीमा राष्ट्रिय आर्थिक गणना बैशाख २ देखि सुरु हुने

नवलपरासी (पश्चिम) — पश्चिम नवलपरासीमा राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने भएको छ। जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अनुसार २०८३ साल बैशाख २ गतेदेखि असार ७ गतेसम्म गणना सञ्चालन गरिनेछ।

जिल्ला आर्थिक गणना कार्यालयका आर्थिक गणना अधिकारी यज्ञमूर्ति भण्डारीका अनुसार उद्योग, प्रतिष्ठान, पसल, कृषि, वन तथा माछापालन क्षेत्रसँग सम्बन्धित दर्ता भएका आर्थिक गतिविधिहरूको गणना गरिनेछ। साथै खानी तथा उत्खनन, औद्योगिक उत्पादनलगायतका क्षेत्रहरू पनि समेटिनेछन्।

उनले जानकारी दिएअनुसार नेपालमा पहिलो पटक २०७५ सालमा आर्थिक गणना गरिएको थियो भने यसपटक जिल्लामा दोस्रो आर्थिक गणना हुन लागेको हो।

गणनाको मुख्य उद्देश्य उद्योग तथा व्यवसायसम्बन्धी तथ्यांक संकलन गरी अर्थतन्त्रको आकारलाई थप सुदृढ र विश्वसनीय बनाउनु, राष्ट्रिय तथा स्थानीय स्तरमा आर्थिक सम्भावनाको पहिचान गर्नु र उद्योगमैत्री सरकारी नीति तथा योजना निर्माणमा सहयोग पुर्‍याउनु रहेको छ। यसबाट प्राप्त नतिजाले आर्थिक तथा सामाजिक नीति निर्माण, योजना तर्जुमा, लक्ष्य निर्धारण र प्रगति मापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

गणनाका क्रममा वस्तु वा सेवा उत्पादन गर्ने प्रतिष्ठानहरूको विस्तृत विवरण संकलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गरिनेछ।

यस कार्यका लागि जिल्लामा ७ जना सुपरिवेक्षक र ५२ जना गणक गरी कुल ५९ जना कर्मचारी परिचालन गरिने कार्यालयले जनाएको छ। स्थानीय तह अनुसार सुनवल नगरपालिकामा १२ जना, बर्दघाट नगरपालिकामा ११ जना, रामग्राम नगरपालिकामा १० जना, पाल्हीनन्दन गाउँपालिकामा ४ जना, प्रतापपुर गाउँपालिकामा ६ जना, सरावल गाउँपालिकामा ४ जना र सुस्ता गाउँपालिकामा ५ जना गणक खटाइनेछन्।

जिल्ला आर्थिक गणना कार्यालयले सम्पूर्ण सरोकारवालालाई गणनामा सहयोग गर्न आग्रह गरेको छ।

थप समाचार

ताजा खबर