परासी, ६ चैत्र — पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हरपूरबाट खटिएको टोलीले पाल्हिनन्दन गाउँपालिका–५, भगतपुरा (सीमा क्षेत्र) मा लुकाइ राखिएको अवस्थामा लागूऔषध फेला पारेको हो।
चैत ४ गते राति करिब ९:३० बजे नियमित गस्ती तथा विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा उक्त लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक (SI) माधव घिमिरेका अनुसार टोलीले करिब ५१०० भन्दा बढी परिमाणमा फेनेरगन, बुप्रेनोर्फिन तथा डाइजेपाम बरामद गरी नियन्त्रणमा लिएको हो।
बरामद गरिएको लागूऔषधको अनुमानित मूल्य करिब तीन लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

