26.7 C
Parāsi
Wednesday, May 13, 2026
spot_img

प्रतापपुर गाउँपालिकाको २०औँ गाउँ सभा सम्पन्न, विकास र सुशासनलाई प्राथमिकता

पश्चिम नवलपरासी, चैत ६ — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको २०औँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ। सभाले आर्थिक प्रस्ताव र विभिन्न निर्देशिका सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

सभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटको सीमा नबढ्ने गरी “वडागत तथा पालिका स्तरीय आयोजना तथा कार्यक्रम संशोधन कार्यविधि निर्देशिका” पारित गरिएको छ। उक्त निर्देशिकाले योजनाहरूलाई व्यवस्थित, प्रभावकारी र समयमै कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जनताको अपेक्षा अनुरूप विकास निर्माण गर्नु जनप्रतिनिधिको मुख्य दायित्व भएको बताउनुभयो। उहाँले सडक, खानेपानी, विद्युत र सिँचाइ जस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्नुभयो।

सभाले चालू आर्थिक वर्षको हालसम्मको आय–व्यय विवरण र कार्यपालिकाका निर्णयहरू पनि अनुमोदन गरेको छ। साथै आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनका विषयमा आवश्यक निर्णयहरू गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत अनिता थारू बि.क.ले पारित निर्देशिकाले बजेट अनुशासन कायम राख्दै वडास्तरीय योजनाहरूलाई समयमै सम्पन्न गर्न कानुनी आधार प्रदान गर्ने बताउनुभयो। उहाँका अनुसार यसले आर्थिक पारदर्शिता र सुशासनलाई थप सुदृढ बनाउनेछ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले न्यायिक समितिबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गतिविधिहरू अनुमोदनका लागि प्रस्तुत गर्नुभएको थियो। उहाँले स्थानीय स्तरमा विवाद समाधान र न्याय सम्पादनमा भएका प्रगतिबारे जानकारी गराउनुभयो।

सभाले पालिकामा लेखा समिति गठन गर्ने निर्णयसमेत गरेको छ, जसले प्रशासनिक कार्यलाई अझ उत्तरदायी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

थप समाचार

ताजा खबर