21.4 C
Parāsi
Sunday, March 8, 2026
spot_img

नवलपरासी पश्चिमको सुस्ता–३ श्रीनगरमा मल कारखाना स्थापना हुँदै

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३, श्रीनगरमा आधुनिक मल कारखाना स्थापना हुने भएको छ। यसअघि चौधरी ग्रुपले केरा चिप्स फ्याक्ट्री सञ्चालन गर्ने उद्देश्यले खरिद गरेको जग्गामै अब कृषि सम्बन्धी उद्योगअन्तर्गत मल कारखाना स्थापना गर्न लागिएको हो।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त स्थानमा मल कारखाना स्थापनाको प्रक्रिया अगाडि बढेको बताएका छन्। उनका अनुसार सुरुमा सो जग्गामा केरा चिप्स उद्योग स्थापना गर्ने लक्ष्य राखिएको थियो। तर स्थानीय स्तरमा उत्पादन हुने केराको गुणस्तर अपेक्षाअनुसार नहुँदा चिप्स उद्योग सञ्चालन उपयुक्त नभएपछि जग्गालाई कृषि उद्योगमै प्रयोग गर्ने निर्णय गरिएको हो।

अध्यक्ष उपाध्यायका अनुसार मल कारखाना स्थापनाका लागि पालिकाबाट आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ भने सम्बन्धित सरकारी निकायबाट पनि स्वीकृति प्राप्त भइसकेको छ। उनले हालै सामाजिक सञ्जालमा लेख्दै चुनावी घरदैलो अभियानका क्रममा विनोद चौधरी सुस्तामा आउँदा निर्माणस्थलको अवलोकन गरिएको र काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिएका छन्।

निर्माणाधीन उद्योगमा रासायनिक मल, जैविक मल तथा अन्य कृषिजन्य उत्पादनको औद्योगिक उत्पादन गर्ने योजना छ। प्रारम्भिक चरणमै जिंक सल्फेट मोनोहाइड्रेट उत्पादन गर्ने अत्याधुनिक रासायनिक मल उद्योग निर्माण सुरु भइसकेको छ। जिंकयुक्त मलले माटोमा देखिने सूक्ष्म पोषक तत्वको कमी सुधार गरी कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

पश्चिम नवलपरासीका अधिकांश नागरिकको जीविकोपार्जन कृषि क्षेत्रमा आधारित छ। विशेषगरी उखु, धान लगायतका बाली यहाँका मुख्य उत्पादन हुन्। तर हरेक वर्ष रासायनिक मलको अभाव, ढुवानी समस्या, चर्को मूल्य र आपूर्ति असन्तुलनका कारण किसानले सास्ती भोग्दै आएका छन्।

स्थानीय स्तरमै मल उत्पादन सुरु भएपछि किसानले सहज र समयमै मल पाउने अपेक्षा गरिएको छ। यस पहलले कृषि उत्पादन वृद्धि, लागत नियन्त्रण तथा स्थानीय रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

थप समाचार

ताजा खबर