बर्दघाट — नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टरको स्थलगत अनुगमन गरेका छन्। उनले परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई
निर्देशन दिएका छन्।
एक वर्षअघि सुरू भएको दुई तल्ले भवनको पहिलो तल्लाको ढलान कार्यक्रम आज तय गरिएको छ। चिसापानी अस्पताल परिसरमा ट्रमा सेवासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना आगामी असोज २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
अनुगमनका क्रममा चौधरीले परियोजनाको महत्व औंल्याउँदै भने, “बर्दघाट–चिसापानीमा निर्माण भइरहेको यो ट्रमा सेन्टर केवल एउटा भवन होइन, यो जनताको जीवन बचाउने आशाको केन्द्र हो। पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेले अब समयमै उपचार पाउने छन्। निर्वाचनका बेला गरेको वाचा अनुसार यस क्षेत्रको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन म प्रतिबद्ध छु, र तोकिएको समयमै सम्पन्न गर्न निरन्तर अनुगमनमा रहनेछु।”
बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरले क्षेत्रीय स्वास्थ्य सेवामा महत्वपूर्ण टेवा पुर्याउनेछ।
निर्माणाधीन ट्रमा सेन्टर सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी–बुटवल खण्डमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ। साथै स्थानीय तहका आकस्मिक बिरामीले समेत गुणस्तरीय सेवा पाउने विश्वास गरिएको छ।

