26.7 C
Parāsi
Friday, April 3, 2026
spot_img

विनोद चौधरीको लक्ष्य: सय सिट पार, गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने

नवलपरासीनेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई “सय सिट पार” गराउने लक्ष्य रहेको बताएका छन्। उनले पार्टीलाई स्पष्ट बहुमतको दिशामा अघि बढाउँदै सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियानमा सबै कार्यकर्ता र शुभेच्छुकलाई एकजुट हुन आह्वान गरे।

बर्दघाट नगरपालिका–१६ मा चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले कांग्रेसभित्रको एकता र जनलहरका कारण प्रतिस्पर्धी दलहरू आत्तिएको दाबी गरे। “केही चलखेलहरू भए पनि ती क्रमशः कमजोर बन्दै गएका छन्,” उनले भने, “अब उत्साहका साथ चुनावमा होमिनुहोस्।”

चौधरीले “बदलिएको कांग्रेस” लाई आगामी १० वर्षसम्म कसैले औँला उठाउन नसक्ने अवस्थामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले विकास र सुशासनलाई केन्द्रमा राखेर दीर्घकालीन स्थायित्वको आधार तयार गर्ने बताए।

सूर्य नगर रंगशाला नमूना बनाउने प्रतिबद्धता

कार्यक्रममा उनले बर्दघाट–१६ स्थित सूर्य नगर रंगशालालाई क्षेत्रकै नमूना रंगशालाका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको जन्मस्थल रहेको यस क्षेत्रको गौरवलाई खेल पूर्वाधारसँग जोड्दै भविष्यमा यहाँ टी–२० खेल आयोजना गर्न सक्ने स्तरमा रंगशाला स्तरोन्नति गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

अधुरा योजना पूरा गर्न पुनः समर्थनको अपिल

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले चौधरीको तीन वर्षे कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै अधुरा योजनाहरू सम्पन्न गर्न र पाँच वर्षे स्थायी कार्यकाल सुनिश्चित गर्न उनलाई विजयी गराउन आग्रह गरे।

आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले नवलपरासीमा संगठन विस्तार, विकासका एजेन्डा र नेतृत्व स्थायित्वलाई मुख्य मुद्दा बनाएको छ।

थप समाचार

ताजा खबर