पश्चिम नवलपरासीका सात स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सरावल गाउँपालिका सबैभन्दा अगाडि देखिएको छ। **राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग**ले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनअनुसार सरावलले ६२.७५ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।
प्रतिवेदनअनुसार पाल्हीनन्दन गाउँपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ। पाल्हीनन्दनले ४६.३३ अंक प्राप्त गरेको छ भने सुस्ता गाउँपालिकाले ४७.३८ अंक ल्याएको छ। नगरपालिकातर्फ बर्दघाट नगरपालिकाले ४७.१८ अंकसहित सबैभन्दा कम अंक प्राप्त गरेको छ। यसैगरी सुनवल नगरपालिकाले ५६.४२ र रामग्राम नगरपालिकाले ५३.६० अंक प्राप्त गरेका छन्। प्रतापपुर गाउँपालिकाले ५१.२६ अंक हासिल गरेको प्रतिवेदनमा उल्लेख छ।
आयोगले स्थानीय तहहरूको मूल्याङ्कन कुल १७ सूचकका आधारमा गरेको हो। सूचकहरूमा असार १० भित्र बजेट सार्वजनिक गरे–नगरेको, असार मसान्तभित्र बजेट पास भए–नभएको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत हिस्सा मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे–नगरेको जस्ता विषय समेटिएका छन्।
त्यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए–नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु व्यवस्थापन, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भजाँच गर्ने महिलाको अनुपात, एसईई नतिजा तथा खोप लगाएका बालबालिकाको अनुपातलाई पनि मूल्याङ्कनका आधार बनाइएको छ।
आयोगका अनुसार यी सूचकहरू स्थानीय तहको वित्तीय अनुशासन, सेवा प्रवाह र सामाजिक सूचकहरूको समग्र अवस्थालाई मापन गर्न तय गरिएका हुन्।

