21.2 C
Parāsi
Tuesday, December 16, 2025
spot_img

प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनबाट सेवा सुरु,स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन पनि सम्पन्न ।

प्रतापुर ,नवलपरासी | पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले ११ करोड ४९ लाख रुपैयाँको लागतमा निर्मित नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। शुक्रबारबाट औपचारिकरूपमा सेवा सुरु गर्दै गाउँपालिकाले अबदेखि आफ्नै स्थायी र व्यवस्थित भवनबाट नागरिकलाई सेवा दिने भएको हो।

गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले विशेष पूजा–अर्चना गरी सेवा शुभारम्भ गरेका हुन्। अध्यक्ष यादवले आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहजता हुने गरेको र अब स्थायी भवनबाट सेवा दिन थालिएसँगै सेवा अझै सहज र जनमैत्री हुने बताए।

“प्रशासनिक भवन गाउँपालिकाको मुख्य पूर्वाधार भएकाले जनप्रतिनिधि आएपछि यसलाई प्रमुख प्राथमिकतामा राखेर निर्माण गरिएको हो,” अध्यक्ष यादवले बताए। उनका अनुसार ४० कोठे उक्त भवनले सेवाग्राहीलाई एकै ठाउँबाट सम्पूर्ण सेवा लिन सहज बनाउनेछ भने कर्मचारीका लागि पनि कार्य वातावरण थप अनुकूल बनाएको छ।

यसअघि गाउँपालिका भाडाको घरमा सञ्चालन हुँदै आएको थियो।

स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन पनि सम्पन्न
प्रतापपुर गाउँपालिकामा स्वास्थ्य सेवा सुदृढ गर्नका लागि दुई तल्ले सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन पनि निर्माण सम्पन्न भएको छ। १ करोड ८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनमा बिरामी जाँच कक्ष, परामर्श कक्ष, सामान्य उपचार कक्षलगायतका आवश्यक पूर्वाधार समेटिएका छन्।

गाउँपालिकाका इन्जिनियर आनन्द यादवका अनुसार नयाँ भवनले स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेछ।

थप समाचार

ताजा खबर