24.2 C
Parāsi
Thursday, November 6, 2025
spot_img

प्रदेशमा काठ अभाव हुन नदिने : वन तथा वातावरण मन्त्री कलवार

परासी, ३१ असार

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले प्रदेशमा काठको अभाव हुन नदिने स्पष्ट पार्दै, वन क्षेत्रलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने योजनामा सरकार अघि बढेको बताएका छन्।

पश्चिम नवलपरासीको सुनवलमा मूलपानी सामुदायिक उपभोक्ता समूहद्वारा आयोजित दुई दिने क्षमता विकास तथा उद्घोषण तालिम उद्घाटन गर्दै मन्त्री कलवारले संघ सरकारले देशभर तीन करोड वृक्षारोपण गर्ने घोषणा गरेको कार्यक्रमलाई प्रदेश सरकारले पनि अपनाउँदै अघि बढिरहेको जानकारी दिए।

बृक्षारोपणमा प्रदेश सरकारको सक्रियता
मन्त्री कलवारले प्रदेश सरकारले निशुल्क बिरुवा उपलब्ध गराउँदै बृक्षारोपणलाई तिव्रता दिएको उल्लेख गरे। उनले विदेशबाट काठ आयात रोक्ने र स्थानीय उत्पादनको काठ बिक्री वितरणलाई प्राथमिकता दिने नीतिमा सरकार अगाडि बढिरहेको बताए।

कृषि र वनलाई समेट्ने नीति
“वनलाई कृषिसँग जोडेर आत्मनिर्भर बनाउने दिशामा प्रदेश सरकार लागेको छ,” मन्त्री कलवारले भने। साथै, उनले सिप सिकेर व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। “सिप उमेरले नछेक्ने कुरा हो, व्यवहारमा परिवर्तन गर्नु जरुरी छ,” उनले थपे।

६० जना महिलाको सहभागिता
तालिममा प्रशिक्षक खेमराज रेग्मीले प्रशिक्षण दिइरहेका छन् भने कार्यक्रममा ६० जना महिलाको सहभागिता रहेको मूलपानी सामुदायिक उपभोक्ता समूह सुनवलका अध्यक्ष यज्ञप्रसाद पाण्डेले जानकारी दिए।

उक्त तालिम सामुदायिक वन उपभोक्ताको क्षमता विकास तथा उद्घोषण क्षमतामा वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। उपाध्यक्ष प्रभुलाल मौर्यका अनुसार तालिम वार्षिक कार्यक्रमअनुसार सञ्चालित छ।

कार्यक्रममा बृहत सहभागिता
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद खड्ग बस्नेत, रामग्राम नगरपालिका वडा नं. ४ का अध्यक्ष मदन यादव, महाकवि देवकोटा क्याम्पस रमावपुरका अध्यक्ष कृष्णप्रसाद लामिछाने, जनउदय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर बी.के, सामुदायिक वनकी सचिव सदिक्षा बराल लगायतको उपस्थिति रहेको थियो।

थप समाचार

ताजा खबर