परासी, २९ वैशाख ।
लुम्बिनी प्रदेश स्तरीय “आर्यवीर च्याम्पियन क्रिकेट लिग २०८०” पश्चिम नवलपरासीमा हिजोदेखि पाल्ही क्याम्पसको रामग्राम फूटबल स्टेडियममा ,ओम नेचर फुड्स प्रालि रामग्राम–१५ नवलपरासीको आयोजनामा शुरु भएको छ। प्रतियोगितामा १६ टीमको सहभगिता रहेको छ। प्रतियोगितामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी लगायतका जिल्लाका क्रिकेट टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको हिजो एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले उद्घाटन गरी सुरुवात गरेका थीए ।ओम नेचर फुड्सका सञ्चालक अमित अग्रहरीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा ओम नेचर फुड्सका प्रबन्ध निर्देशक एवं नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओम प्रकाश अग्रहरी सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा,वार्ड न ४ का वार्ड अध्यक्ष मदन यादव , नवलपरासी उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा हिजो भएको पहिलो खेलमा परासी स्म्यासर्सले विजयी सुरुवात गरेको छ । परासीले ३५ रनको फराकिलो जित दर्ता गर्दै एएमबीबी सुनवललाई पराजित गरेको छ। टस जितेर पहिले व्याटिङ गरेको परासी स्म्यासर्सले १२ ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । परासी स्म्यासर्सका लागि रविसले ५६ रन, क्याप्टेन अमित अग्रहरीले ३९ रन बनाए । एएमबीबी सुनवलका लागि दिपेन्द्रले ३ विकेट र गोविन्दले १ विकेट लिए । १५५ रनको विजय लक्ष्य पछ्याएको सुनवल आठ विकेटको क्षतिमा ११९ रनमा समेटियो ।
सुनवल गोविन्द ३२,आनन्द १९,मिलन १३ रनमा आउट भए । आयोजक टिमलाई सस्तैमा समेट्ने क्रममा परासीका लागि रविशले ३विकेट,सुजितले २ विकेट र आनन्दले २ विकेट लिए । आफ्नो टिमलाई जित दिलाउन भूमिका खेलेका परासी स्म्यासर्सका रविश सर्वाधिक ५६ रन र ३ विकेट लिँदै आजको प्रतियोगिताको म्यान अफ द म्याच घोषित भएको प्रतियोगिताका सदस्य सन्दिप अग्रहरीले जानकारी दिए ।
कूल १६ टिमको सहभागिता रहेको यो प्रतियोगितामा आगामी जेठ सात गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजयी टिमलाई नगद रु एक लाख,ट्रफि र प्रमाणपत्र, रनरअपलाई नगद रु चालिस हजार, ट्रफि र प्रमाणपत्र, प्लेयर अफ त सिरिजलाई रु पाँच हजार, ट्रफि र प्रमाणपत्र, बेष्ट ब्याट्म्यानलाई रु २५०० र ट्रफि, बेष्ट बलरलाई रु २५०० र ट्रफि प्रदान गरिने आयोजक ओम नेचर फुड्स नवलपरासीले जनाएको छ।
प्रतियोगिताको यो सिजन–१ हो । आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ। २०७४ मा स्थापना भएको ओम नेचर फुड्स प्रालिले गुणस्तरीय खाद्यन्न उत्पादन गर्दै राजधानी काठमाडौँ लगायत देशका मूख्य बजारमा सुलभ तरिकाबाट आफ्नो उत्पादन आपूर्ति गर्दै आएको उद्योगका प्रबन्ध निर्देशक ओमप्रकाश अग्रहरीले बताए ।