०५ बैशाख २०७७
परासी
उद्योगका लागि कच्चा पदार्थ लिएर आएका २७ भारतीय ट्रकलाई पश्चिम नवलपरासीको पोखरापालीका स्थानीयले शुक्रबार अवरोध गरेका छन्। भारतमा कोरोनाको संक्रमण बढी रहेका बेला ट्रकमा आउने चालक र सहचालकका कारण आफूहरु जोखिममा पर्ने भन्दै स्थानीयले ट्रकलाई अवरोध गरेका हुन्।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित पोखरापालीमा रहेको सिद्धि लक्ष्मी स्टिल उद्योगका लागि ट्रकले कच्चा पदार्थ लिएर आएको थियो। भैरहवा भन्सार कार्यालयबाट प्रवेश पाएका ट्रकहरु स्थानीयको अवरोधका कारण उद्योग अगाडी र भूमही_भैरहवा सडकखण्डको सुक्रौलीमा रोकिएका छन्। चालक र सहचालकहरुले उद्योगमा ट्रक छाडेपछि बाहिर निस्कने र त्यसले स्थानीयहरु त्रसित हुन थालेकाले रोकेर राखिएको स्थानीय उमेश सहानीले बताए। ‘पटक पटक ट्रक नल्याउन आग्रह गर्यौ। दिनका दिन २० देखि ४० ट्रक भारतबाट आउँछन्। स्थानीयको स्वास्थ्यलाई जोखिममा राखेर ट्रक ल्याउन दिन्नौ’ अर्का स्थानीय रामभवन सहानीले भने।
जिल्लामा रहेका अन्य उद्योगहरुमा पनि दिनहुँजसो भारतीय ट्रकहरुले कच्चा पदार्थ ल्याउन थालेपछि स्थानीयले अवरोध गर्दै आएका छन्। पाँच दिनअघि सुनवल नगरपालिकामा रहेको लक्ष्मी स्टील उद्योगमा भारतबाट कच्चा पदार्थ बोकेर आएका ट्रकलाई रोकेपछि प्रहरी र स्थानीयबीच झडप नै भएको थियो।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भन्सार काटेर आएका सवारीसाधनलाई रोक्न समस्या भएको बताए। ‘भन्सारले मुख्य प्रवेशद्धारमै रोक्नु पर्थ्यो। राजश्व तिरेर आवतजावत गर्न दिएपछि हामीले रोक्न सक्दैनौं’ प्रजिअ दाहालले भने। स्थानीयसँग समन्वय गरेर अवरोध गरेका ट्रकलाई उद्योगमा प्रवेश गर्ने वातावरण मिलाइने उनले बताए।
यता भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भन्सार अधिकृत कमलप्रसाद भट्टराईले ट्रान्सपोर्टको सामान नरोक्ने आदेश भएकाले भन्सार काटेर पठाउने गरेको बताए। ‘हाम्रो काम रोक्ने होइन। भन्सारमा सामान लिएर आउने सबै सवारीसाधनलाई नरोकी पठाउन भनिएको छ। त्यसैले राजश्व लिएर पठाउने गरेका हौं’ भट्टराईले भने। (आज को अन्नपुर्ण अँनलाइन मा समाचार छ ।)



