परासी, ३ बैशाख
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गुणस्तरहीन राहत चामल वितरण गरेको विषयमा छानविन सुरु भएको छ ।
राहतका नाउँमा गरिबलाई गन्हाएको चामल दिएको भन्दै गत शुक्रबार केही वडाका विपन्नहरुले खाद्यन्न सामाग्री नगरपालिकाको गेट अगाडी फालिदिएका थिए । 
चामल फ्याक्न थालेपछि अन्य वडाले अहिले राहत बाँड्न रोकेका छन् । गेट अगाडी नै चामल फ्याकिएपछि तत्काल प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेर पठाएका थिए । छानविन समिति गठनपछि रामग्राम नगरपालिकाले पनि चामलको तौल र गुणस्तर नाप गर्न सम्बन्धित निकायलाई पत्रचार गरेको थियो । सोहीअनुसार गुणस्तर तथा नाप तौल कार्यालय बुटवल र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले छानविनको प्रकृया सुरु गरेका हुन् । चामलको गुणस्तरका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नमूना संकलन गरेर ल्याब परीक्षण गर्न पठाएको छ । नतिजा आउन केही दिन लाग्ने कार्यालयले जनाएको छ ।
त्यसैगरी वितरण गर्न नगरपालिका कार्यालयमा राखिएका चामलको तौल समेतमा कमी पाइएको गुणस्तर तथा नापतौल कार्यालय बुटवलका खाद्य निरीक्षक नुरुल ऐन भाटले बताए
खाद्य वस्तुको गुणस्तर कम भए अधिकतम् ५० हजार जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । त्यसैगरी नापतौलमा लापरबाही भएको पाइएमा ३० हजार जरिवाना र ३ वर्ष कैद सजाय हुने प्रावधान रहेको छ ।
नगरपालिकामा १८ वडाका २३ सय घरधुरीलाई राहत वितरण गर्न थालिएको थियो । २ सय ५० क्विन्टल सोना मनसुली चामल नगरपालिकाले परासीस्थित राजेश राइस मिलबाट १० लाखमा खरिद गरेको छ । रोकिएको राहत वितरण कार्य तत्काल सुरु गरिने रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताएका छन् ।

