नवलपरासी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का समानुपातिक आकांक्षी उम्मेदवार महेन्द्र हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। सुस्ता गाउँपालिका सदस्यसमेत रहेका हरिजनले जिल्ला नेतृत्वलाई सम्बोधन गर्दै दिएको लिखित पत्रमार्फत आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
रास्वपा त्यागेसँगै हरिजनले नेपाली कांग्रेस का उम्मेदवार विनोद चौधरी लाई विजयी गराउन अपील गरेका छन्। उनले नवलपरासी (पश्चिम) मा कांग्रेसको पक्षमा मत एकीकृत गर्न आवश्यक रहेको बताएका छन्।
आजै नवलपरासी पश्चिम बर्दघाट–१२ मा आयोजित कांग्रेसको घरदैलो कार्यक्रममा रास्वपा तथा नेपाली कम्युनिस्ट पार्टी का ५० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको जनाइएको छ।
नवलपरासी (पश्चिम) मा पार्टी निर्माण तथा संगठन विस्तारमा सक्रिय रूपमा संलग्न रहँदै आएका हरिजनले रास्वपाले विधि र प्रक्रिया बिना टिकट वितरण गरेको आरोप लगाएका छन्। साथै, पार्टीमा वैचारिक स्पष्टता र सिद्धान्तको अभाव देखिएको उनको दाबी छ।
‘पार्टीभित्र बढ्दो गुटबन्दी र सीमित समूहको प्रभावका कारण साधारण सदस्यले सम्मानजनक भूमिका निर्वाह गर्न नसक्ने अवस्था सिर्जना भएको छ,’ हरिजनले भने, ‘यस अवस्थामा पार्टीभित्र रहनुको कुनै अर्थ छैन।’
हरिजनको राजीनामासँगै नवलपरासी (पश्चिम) को राजनीतिक समीकरणमा थप हलचल देखिएको छ।

