नवलपरासी । विनोद चौधरीले नवलपरासी आफ्नो घर भएकाले यहीँ उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार रहेका चौधरीले स्थायी सरकार निर्माणका लागि पार्टीभित्रै सुधार र संघर्ष आवश्यक रहेको बताएका छन्।
चुनावी प्रचारप्रसारका क्रममा प्रतापपुर र सुस्तामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले विगत ३० वर्षमा ३६ वटा सरकार गठन हुँदा पनि राजनीतिक अस्थिरताका कारण जनताले अपेक्षित न्याय र विकास नपाएको बताए। “अस्थिर सरकारले जनताको भरोसा तोडेको छ, यही निराशा अहिले जेनेरेशन आन्दोलनको रूपमा देखिएको छ,” उनले भने।
चौधरीले रोजगारी अभावकै कारण लाखौं युवा विदेशिन बाध्य भएको उल्लेख गर्दै स्थानीय स्तरमै लघु तथा साना उद्योग विकास गर्नुपर्नेमा जोड दिए। “हरेक युवालाई सपना देख्ने अधिकार छ। आफ्नै ठाउँमा रोजगारी पाउने अधिकार छ। त्यो वातावरण बदलिएको कांग्रेसले बनाउँछ,” उनले दाबी गरे।
देशका विद्यमान समस्या समाधानका लागि नेतृत्व परिवर्तनसहित कांग्रेस जनतामाझ आएको उनको भनाइ थियो। पछिल्लो समय आफ्नो विषयमा समाजमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यस्ता नकारात्मक हल्लामा नलाग्न मतदातालाई आग्रह गरे। “मसँग जोडिनुहोस्, प्रश्न गर्नुहोस्, म खुला छु,” उनले भने।
केरा चिप्स उद्योगको विषयलाई लिएर राजनीतिक रूपमा भ्रम फैलाउने प्रयास भएको दाबी गर्दै चौधरीले निकट भविष्यमै उद्योग स्थापना हुने बताए। “जुन क्षेत्रलाई मैले आफ्नो घर ठानेको छु, त्यहीँ उद्योग खुल्छ। विदेशमा उद्योग खोल्ने व्यक्तिले आफ्नै क्षेत्रमा उद्योग नखोल्ने कुरा हुनै सक्दैन। ढुक्क हुनुहोस्, रोजगारी सिर्जना हुन्छ,” उनले विश्वास व्यक्त गरे।
चौधरीले औद्योगिक विकासमार्फत स्थानीय युवालाई रोजगारी उपलब्ध गराउँदै नवलपरासीको आर्थिक अवस्था सुधार गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

