
नवलपरासी, माघ — राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नवलपरासी जिल्लामा एचपीभी (HPV) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २५ गतेदेखि २८ गतेसम्म नियमित खोप कार्यक्रम अन्तर्गत कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी एचपीभी खोप लगाइने भएको हो।
विद्यालय केन्द्रित नियमित एचपीभी खोप सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रममा यसबारे जानकारी दिइएको थियो। स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लाभर करिब ३ हजार ७ सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइनेछ।
उक्त खोप अभियान जिल्लाका सामुदायिक तथा संस्थागत गरी २०४ वटा विद्यालयमा सञ्चालन गरिनेछ भने दुई वटा खोप केन्द्र विद्यालय बाहिर स्थापना गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। विद्यालय बाहिर रहेका करिब २०० जना किशोरीलाई पनि सोही उमेर समूहअन्तर्गत खोपको पहुँचमा ल्याइने स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अगद बहादुर शाहीले बताए।
किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ। वरिष्ठ खोप अधिकृत शर्माका अनुसार नेपालमा हरेक वर्ष करिब १ हजार ३ सय ९३ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको छ।
जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललगायत सरोकारवालाहरूले आ–आफ्नो क्षेत्रबाट अभियान सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि किशोरी खोपबाट वञ्चित नहुने सुनिश्चित गरिने बताएका छन्।

