
नेपाल नेत्र ज्योति सङ्घ डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीको प्राविधिक सहयोग तथा डाक फाउण्डेशन, काठमाडौंको आर्थिक सहयोगमा सरावल गाउँपालिका–गोबरहियामा एकदिने नि:शुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविर नेपाल नेत्र ज्योति सङ्घ नवलपरासी शाखाका सभापति आदरणीय श्री देवेन्द्र राज कण्डेल ज्यूको प्रमुख आतिथ्यता, सरावल गाउँपालिकाका अध्यक्ष श्री सुखाडी प्रसाद चौधरी ज्यूको विशिष्ट आतिथ्यता तथा गोबरहिया कृषि सहकारी संस्थाका अध्यक्ष श्री सुरेश प्रसाद चौधरी ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।
शिविरमा अस्पतालको प्राविधिक टोलीद्वारा कुल ३८५ जना आँखाका बिरामीहरूको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १३० जनामा मोतियाबिन्दुको समस्या पहिचान भई शल्यक्रियाका लागि अस्पतालमा ल्याइएको छ। ती बिरामीहरूको शल्यक्रिया भोलिदेखि निरन्तर रूपमा डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीमा गरिने जानकारी अस्पतालले दिएको छ।
शिविरमा मोतियाबिन्दु बाहेक आँखाका अन्य समस्याबारे आवश्यक परामर्श तथा औषधि उपचारसमेत निःशुल्क प्रदान गरिएको थियो। स्थानीय नागरिकहरूले घरआँगनमै गुणस्तरीय आँखा सेवा पाएकोमा आयोजकप्रति आभार व्यक्त गरेका छन्।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण महानुभाव, संस्था तथा प्राविधिक टोलीप्रति आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

