20.9 C
Parāsi
Friday, October 10, 2025
spot_img

एमालेले गर्यो पश्चिम नवलपरासीमा जेनजी प्रदर्शनबाट भएको क्षति अवलोकन

नेकपा एमाले पार्टी पश्चिम नवलपरासीले भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिको अवलोकन तथा भेटघाट गरेको छ।

एमाले जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको नेतृत्वमा गरिएको टोलीले आगजनी र तोडफोडबाट पीडित स्थानीय, जनप्रतिनिधि र नेताहरूसँग भेटेर सान्त्वना दिएको हो। अध्यक्ष अधिकारीका अनुसार प्रदर्शनका क्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको दुईवटा घर, पूर्वमन्त्री हृदेश त्रिपाठी, संविधान सभा सदस्य विक्रम खनाल, एमाले जिल्ला सचिव धीरज शर्मा बस्याल तथा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा सकीन अन्सारीको घरमा ठूलो क्षति पुगेको छ।

उनले सुनवल नगरपालिकाकी मेयर एवम् एमाले केन्द्रीय सदस्य बिमला अर्याल, उपमेयर सूर्य दुबे, बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय लगायत नेताकार्यकर्ताको घर र कार्यालयमा समेत तोडफोड र आगजनी भएको जानकारी दिए।

प्रदर्शनका कारण रामग्राम नगरपालिका भवन, जिल्ला समन्वय समितिको कार्यालय, सुकुम्बासी तथा अव्यवस्थित बसोबास आयोग कार्यालय, सुनवल नगरपालिका भवन, मालपोत कार्यालय लगायतका स्थानीय तहका कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएको जनाइएको छ। आवश्यक कागजात तथा खाद्यान्न, कपडालत्तासहितका जिन्सी सामान समेत जलेर खरानी भएको अधिकारीले बताए।

अवलोकनमा पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी, निर्वाचित जनप्रतिनिधि तथा भातृ संगठनका प्रतिनिधिहरूको सहभागिता थियो।

यसैबीच, जिल्लामा भएको क्षतिको विवरण संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ। प्रदर्शनका क्रममा करिब ५० भन्दा बढी सार्वजनिक सम्पत्ति, निजी र संस्थागत संरचनामाथि तोडफोड र आगजनी भएको प्रारम्भिक तथ्याङ्कमा उल्लेख गरिएको छ।

थप समाचार

ताजा खबर