
परासी, १४ साउन – नेपाल निजामती कर्मचारी संगठन नवलपरासीले एक बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको समन्वय स्वास्थ्यकर्मी महासंघ र पेशागत महासंघ नेपालले गरेका थिए भने प्राविधिक सहकार्य नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाले गरेको थियो।
कार्यक्रम सहिद मनोज र झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा आयोजना गरिएको थियो। संगठनका अध्यक्ष देविलाल पौडेलले कार्यक्रममा सहभागिता जनाउने २५ जना रक्तदाताको उल्लेख गर्दै यसको उद्देश्य रगतको अभावमा अप्ठ्यारोमा रहेका व्यक्तिहरूसम्म रगतको आपूर्ति गर्न रहेको जानकारी दिए।
संगठनका केन्द्रीय सदस्य काशिराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा संगठनका सचिव अमृत भुसालले २५ जनाले रक्तदान गरेको जानकारी दिए।
संगठनले यसै बीचमा सुनवल नगरपालिकाको १३ नम्बर वडामा रहेको पवित्र वृद्धाश्रमका ५ जना वृद्धलाई आवश्यक खाद्यान्न सामग्री वितरण पनि गरेको जनाएको छ।
यस रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वको पालनासँगै जनस्वास्थ्यका लागि ठूलो योगदान पुर्याएको छ।

