22.5 C
Parāsi
Tuesday, December 16, 2025
spot_img

रिफर गर्नुभन्दा बिरामीको सेवा यहीँ सम्पन्न गर्नुपर्ने संस्कार बसाल्न जरुरी छ।” : मुख्यमन्त्री आचार्य


परासी, ११ साउन।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताको पहुँचमा गुणस्तरीय र विशेषज्ञ उपचार सेवा पुर्‍याउन प्रदेश सरकार सक्रिय रहेको बताएका छन्। शनिबार पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले अस्पताललाई आत्मनिर्भर बनाउन विशेषज्ञ सेवा विस्तार र पूर्वाधार विकासमा जोड दिइएको जानकारी दिए।

मुख्यमन्त्री आचार्यले पछिल्लो समय अस्पतालमा मृगौलाको डायलासिस सेवा विस्तार गरिएको, आँखा उपचारका लागि छुट्टै कक्ष निर्माण गरिएको लगायतका संरचनात्मक तथा सेवा-सुविधा सुधार कार्यहरू अगाडि बढाइएको बताए।
“अब यहाँबाट जटिल रोगबाहेक सबै उपचार सेवा दिनुपर्छ,” उनले भने, “रिफर गर्नुभन्दा बिरामीको सेवा यहीँ सम्पन्न गर्नुपर्ने संस्कार बसाल्न जरुरी छ।”

११४ वर्ष पुरानो पृथ्वीचन्द्र अस्पताल हाल ५० शैयाको क्षमतामा सञ्चालनमा छ। पूर्व भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको पहलमा १३ करोड ६६ लाख रुपैयाँ लागतमा दुई तल्ले नयाँ भवन निर्माण गरिएको हो।

मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाका अनुसार, अस्पतालमा हाल १९ जना चिकित्सकसहित ५९ जना कर्मचारी कार्यरत छन्। विशेषज्ञ सेवाहरू अन्तर्गत जनरल मेडिसिन, सर्जरी, गाइनेकोलोजी, हाडजोर्नी, नेत्र, रेडियोलोजी, जेरियाट्रिक, डेन्टल लगायतका सेवा प्रदान हुँदै आएको छ।

हाल अस्पतालमा निम्न सेवाहरू सञ्चालनमा छन्:

बहिरङ्ग (OPD) र आकस्मिक सेवा

प्रयोगशाला र रेडियोलोजी सेवा

शल्यक्रिया तथा अन्तरङ्ग सेवा

निःशुल्क प्रसूति, सुरक्षित गर्भपतन

दन्त तथा आँखा उपचार सेवा

हाडजोर्नी र फिजियोथेरापी

लैङ्गिक हिंसा परामर्श तथा उपचार

जेष्ठ नागरिक तथा पेन OPD

सिकलसेल एनेमिया परीक्षण र उपचार

क्षयरोग स्क्रिनिङ, स्वास्थ्य बीमा कार्यक्रम

मेडिकोलिगल तथा पोष्टमार्टम सेवा

केही दिनअघि अस्पतालमा पहिलोपटक पित्तथैलीको सफल शल्यक्रिया गरिएको हो भने मृगौलाको डायलासिस सेवा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।

 

थप समाचार

ताजा खबर