परासी, ४ असार ।
प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले कोभिड संकट व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण
गरिएको छ।अमेरिकास्थित ‘होप’ नामक प्रोजेक्टको सहयोगमा प्रतिष्ठानले कोभिड–१९ बिरुद्ध लड्नका लागि ती स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।कोभिड–१९ को महामारीबाट उत्पन्न अहिलेको असहज परिस्थितिमा यसबिरुद्ध लड्न राज्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामाग्री जुटाई सहयोग गर्न सुरु गरेका हौं’, उनले भनिन् ।अस्पताललाई अन्य सामाग्री जुटाउनका लागि भोलीका दिनमा पनि प्रतिष्ठानले पहल जारी राख्ने कार्यकारी निर्देशक थापाले बताइन् ।गत वर्ष कोभिड–१९ को महामारीलाई मध्यनजर गरी संस्थाले भवन र भवन परिसरलाई क्वारेन्टिन र होल्डिङ सेन्टर संचालन गर्नका लागि उपलब्ध गराएको थियो । नेपाली सेनाको समन्वयमा ९ महिनासम्म क्वारेन्टिन र होल्डिङ सेन्टर संचालन गरी २४ हजार नागरिकलाई आफ्नो गन्तव्यमा पुर्याइएको थापाले बताइन् ।रुपन्देहीको भैरहवामा रहेको प्रतिमान- नीमा स्मृति प्रतिष्ठानले आज सात थान अक्सिजन कन्सन्ट्रेटर,अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्तामार्फत अस्पताललाई प्रदान गरेको हो । प्रतिष्ठानकि कार्यकारी निर्देशक स्वाती थापालेअस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानले अमेरिकास्थित प्रोजेक्ट होपसँग पहल गरि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सरकारी अस्पताललाई आवश्यकताको आधारमा स्वास्थ्य सामग्री सहयोग गरेको उहाँले बताउनुभयो । भारतसँग जोडिएका लुम्बिनी प्रदेशका जिल्लाहरु खुला सीमानाका कारण कोरोना भाईरस संक्रमणबाट धेरै प्रभावित हुनुका साथै सरकारी अस्पतालहरु सुबिधा सम्पन्न भईनसकेका तर विपन्न वर्गले सेवा लिने केन्द्र भएकोले आफूह सरकारी अस्पताललाई सहयोगका लागि प्राथमिकता दिएको थापाले उल्लेख गर्नुभयो ।प्रतिष्ठानले दस लिटरको अक्सिजन कन्सन्ट्रेटर सात थान, ४० लिटरको अक्सिजन सिलिन्डर पाँच थान, अक्सिजन रेगुलेटर पाँच सेट, सर्जिकल मास्क,हेड सर्जिकल क्याप,सुकभर, सहितको पिपिई १२५ थान, सेट बाहेकको सर्जिकल मास्क ५००, हेड शिल्ड एक सय थान, सर्जिकल क्याप सय थान र हेन्ड सेनिटाईजर ५० लिटर सहयोग गरेको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले जानकारी दिनुभयो। कार्यक्रममा रामग्राम नगर प्रमुख गुप्ताले यो महामारीको समयमा पृथ्वी चन्द्र अस्पताललाई छनौट गरेर सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिदै उक्त सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो । विपद्को सामना सरकारले मात्रै गरेर भएकोले सामाजिक गैरसरकारी संस्थाहरुको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो। अस्पताल विकास समितिका अध्यक्ष चौधरीले सहयोग प्रति आभार व्यक्त गर्दै अस्पतालको सेवा सुबिधा विस्तारमा आफूहरू लागिरहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले अस्पतालको मुख्य भवन बनाउन अहिलेको बजेटमा रु छ करोड ७४ लाख विनियोजन गरेको जानकारी दिनुभयो । कुल २५ करोड २१ लाखको लागतमा बहुवर्षीय योजना अनुसार भवन तयार हुने उहाँले बताउनुभयो। अस्पतालका निमित्त मेसु डा. मोहम्मद नुरुल होदाले अस्पतालका लागि संघीय सरकारले पठाएको बजेटबाट अक्सिजन प्लान्ट स्थापना र एचडियु सेवा सञ्चालनका लागि टेन्डर भई सम्झौता हुने चरणमा रहेको जानकारी दिनुभ। यस्तै भेन्टिलेटर सहितको पाँड बेडको आईसियू कक्ष निर्माणका लागि पनि प्रक्रिया थालिएको उहाँले बताउनुभयो हाल अस्पतालमा रहेका पाँच लिटरका अक्सिजन कन्सन्ट्रेटरले प्रभावकारी काम गर्न नसकेकोमा अहिले प्राप्त दस लिटरको कन्सन्ट्रेटरले बिरामीको सेवामा सहज हुने उहाँको भनाइ थियो । अस्पतालमा यसअघि संघ तथा प्रदेश सरकार र विभिन्न संघ संस्थाबाट प्राप्त १५ थान अक्सिजन कन्सन्ट्रेटर रहेको अस्पताल व्यवस्थापक सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

