हरि शर्मा
परासी, २२ बैशाख ः पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा जेलमा रहेका राजेश राइस मिल परासीका व्यवसायी पटवारी वनियाँ सोमबार धरौटीमा छुटेका छन् । चामल प्रकरणका ७३ वर्षीया वनियाँलाई दुई वटा मुद्दा दायर गरिएको थियो । व्यवसायी वनियाँले नगरपालिकालाई राहतका लागि उपलब्ध गराएको चामल न्यून गुणस्तर र नेपाल सरकारको मापदण्ड विपरीत रहेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो । अदालतमा ५० हजार र जिल्ला प्रशासन कार्यालयमा १० हजार धरौटी बुझाए पछि उनी जेल मुक्त भएका हुन् ।
थुनामा रहेका वनियाँले उच्च अदालत तुलसीपुर बुटवल इजलाशमा थुना मुक्त हुनका लागि निवदेन पेश गरेअनुसार ५० हजार धरौटीमा रिहा गरिएकोे जिल्ला अदालतका श्रेस्तेदार डिल्ली शर्माले जानकारी दिए ।
यसैगरी व्यवसायी वनियाँले खाद्य उद्योगको उत्पादन तथा बिक्री वितरणका लागि अनुज्ञापत्र नलिई व्यवसायी सञ्चाल गरेको अभियोगमा दायर भएको मुद्दामा १० हजार धरौटी लिइ तारेखमा छाडिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।
यता व्यवसायी वनियाँ उपर गुणस्तर तथा नाप तौल कार्यालय बुटवलले घटी तौलमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । वनियाँले तौल कमी गरी चामल उपलब्ध गराएको आरोप छ । उनको बयान सकिएकाले अदालतमा मुद्दा चलाउने प्रकृया सुरु गर्न लागिएको गुणस्तर तथा नाप तौल कार्यालयले जनाएको छ । नगरपालिकाले २३ सय विपन्नका लागि प्रतिघरधुरी ५÷१० र १५ केजी सोना मनसुली (मोटा)चामल र सोहीअनुसारका अन्य खाद्यन्न वितरण सुरु गरिएको थियो ।
चैत २८ गते रामग्राम नगरपालिकाले वितरण गरेको चामल खान योग्य नभएको र कम तौल भएको भन्दै केही विपन्नहरुले खाद्यन्न सामाग्री नगरपालिकाको गेट अगाडी फालेका थिए । नगरपालिकाले २ सय ५० क्विन्टल वनियाँको राईस मिलबाट खरिद गरेको थियो । १० लाखमा खरिद गरिएको चामलको मूल्य प्रति केजी ४० रुपैयाँ छ ।
यसैबीच राहत सामग्री खरिद प्रकृयाबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पनि नगरपालिकाबाट कागज पत्र लगेर अनुसन्धान गरिरहेको छ ।

