हरि शर्मा
परासी, १७ बैशाख ः
पश्चिम नवलपरासीमा आरटी पिसिआर विधिबाट कोरोनाको परीक्षण सुरु गरिएको छ । जिल्लाका सात वटै स्थानीयतहबाट बुधबारदेखि परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । कोराना आशंका गरिएकाहरुको स्वाब संकलन गर्न प्रदेश ५ सरकारले २ सय थान भिटिएम पठाएको छ । जिल्लाका १३ स्थानमा ४ आइसोलेसन र ३ सय १६ क्वारेन्टाइन छ ।
पहिलो चरणमा संस्थागत क्वारेन्टाइनमा बसेर घर गईसकेका र हाल बसिरहेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने छ । हरेक स्थानीय तहमा २५ देखि ५० जनासम्मको स्वाब संकलन गरिने छ ।
संस्थागत क्वारेन्टाइनमा बसेर गएकासहित क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ९० छ । क्वारेन्टाइनमा बस्ने सबै भारतलगायत तेस्रो मुलकबाट आएका हुन् । जिल्लामा होम क्वारेन्टाइनमा बस्नेहरु करिब ७ सयको हाराहारीमा रहेको ढकालले जानकारी दिए । भिटिएम कम भएका कारण पहिलो चरणमा क्वारेन्टाइनमा बसेकाहरुको मात्र गरिने छ । प्रदेश सरकारले पुन भिटिएम पठाएपछि होम क्वारेन्टाइनमा बसेकाहरुको पनि परीक्षण हुने ढकालले जानकारी दिए । संकलन गरिएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइने छ । भैरहवामा रहेको प्रयोगशालाले परीक्षण गर्न नमानेपछि काठमाण्डौं पठाउने व्यवस्था मिलाएको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण रिपोर्ट दुई दिनमा आउने छ । जिल्लामा हालसम्म कसैमा पनि कोरोना पोजिटिभ देखिएको छैन ।


