नवलपरासी क्षेत्र नम्बर २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनले केही नयाँ राजनीतिक अनुहारहरूलाई अगाडि सारेको छ। तीमध्ये एक हुन् ३६ वर्षीय देवेन्द्र यादव, जो जनता समाजवादी पार्टी (जसपा नेपाल)का तर्फबाट उम्मेदवार बनेका छन्। राजनीतिक विरासतभन्दा फरक पृष्ठभूमिबाट आएका यादवको उम्मेदवारीलाई यस क्षेत्रको चुनावी प्रतिस्पर्धामा चासोका साथ हेरिएको छ।
२०४६ पुस ६ गते रामग्राम नगरपालिका–१६ को तोनवामा जन्मिएका यादवको यो पहिलो चुनावी अनुभव हो। लामो समय शिक्षा र कृषि पेशामा सक्रिय रहँदै आएका उनी परम्परागत राजनीतिभन्दा बाहिरको पहिचान बोकेका उम्मेदवार मानिन्छन्। यही कारणले उनको उम्मेदवारीलाई ‘जेनजी आन्दोलनपछिको राजनीतिक चेतनाको उपज’का रूपमा व्याख्या गरिँदै आएको छ।
शैक्षिक रूपमा आइएससीसम्म अध्ययन पूरा गरेका यादवले स्नातक तह (ब्याचलर अफ इन्जिनियरिङ्) अध्ययन आर्थिक अभावका कारण अधुरै छाड्नुपरेको यथार्थ लुकाएका छैनन्। यही आर्थिक संघर्षले उनलाई व्यवहारिक जीवन र उद्यमशीलतामा डोर्याएको देखिन्छ। २०६८ सालदेखि रुपन्देहीको धकधईमा निजी विद्यालय सञ्चालन गर्दै आएका उनी मध्यमवर्गीय जीवनको प्रतिनिधित्व गर्छन्। यससँगै गाई–भैँसी पालनमा आधारित निजी कृषि फर्ममार्फत उनले आत्मनिर्भर आर्थिक आधार पनि बनाएका छन्।
राजनीतिक यात्राको हिसाबले हेर्दा यादवले अहिलेसम्म पार्टीको हकुई गाउँ कमिटी अध्यक्षको जिम्मेवारी मात्र सम्हालेका छन्। यति सीमित संगठनात्मक अनुभव हुँदाहुँदै पनि पार्टीले उनलाई उम्मेदवार बनाउनुको कारणबारे उनी आफैं स्पष्ट छन्। जेनजी आन्दोलनपछि पार्टीभित्र युवा नेतृत्वलाई नीति निर्माण तहमा लैजानुपर्ने बहस तीव्र भएको र सोही सोचअनुसार आफूलाई अवसर दिइएको उनको दाबी छ। साथै, विभिन्न सामाजिक संघ–संस्थामार्फत निरन्तर सक्रिय रहँदै आएको पृष्ठभूमि पनि टिकट पाउने आधार बनेको उनको भनाइ छ।
नवलपरासी–२ मा यसअघि चुनाव जितेर मन्त्रीसमेत भइसकेका अनुभवी नेताहरूको उपस्थिति कायमै छ। यस्तो अवस्थामा यादवजस्ता नयाँ र कम परिचित उम्मेदवारका लागि चुनाव सजिलो देखिँदैन। तर उनी संगठनभित्र देखिएको युवा उत्साह र परिवर्तनको चाहनालाई आफ्नो बलियो पक्ष ठान्छन्। “संगठन र युवापंक्तिमा देखिएको परिवर्तनको लहरले मेरो जित सुनिश्चित छ,” भन्ने उनको दाबीले आत्मविश्वास झल्काउँछ।
विश्लेषकहरूका अनुसार यादवको उम्मेदवारीले यस क्षेत्रमा दुई फरक धारको प्रतिनिधित्व गर्छ—एकातिर अनुभव र राजनीतिक पहुँच भएका पुराना अनुहार, अर्कोतिर पेशागत जीवनबाट आएको नयाँ पुस्ताको आकांक्षा। मतदाताले स्थायित्व र अनुभव रोज्ने कि परिवर्तन र नयाँ सोचलाई अवसर दिने भन्ने प्रश्न यस निर्वाचनको केन्द्रीय बहस बनेको छ।
पहिलो राजनीतिक परीक्षामा उत्रिएका देवेन्द्र यादव पास हुन्छन् वा फेल, त्यसको अन्तिम निर्णय भने फागुन २१ गते आउने चुनावी नतिजाले नै गर्नेछ।

