42.3 C
Parāsi
Monday, May 25, 2026
spot_img

रास्वपाका उम्मेदवार गुप्ताविरुद्ध दुष्प्रचार, एआइ र फेक आइडी प्रयोग भएको आरोप

पश्चिम नवलपरासी, २९ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीले आफ्ना क्षेत्र नं. २ का उम्मेदवार नरेन्द्र कुमार गुप्ताविरुद्ध सुनियोजित दुष्प्रचार भइरहेको आरोप लगाएको छ।

पार्टीले फेक आइडी तथा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधिको दुरुपयोग गरी उम्मेदवारको चरित्र हत्या गर्ने प्रयास भएको भन्दै कडा आपत्ति जनाएको हो। बिहीबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाका जिल्ला उपसभापति रबी पाण्डेले उम्मेदवारविरुद्ध फैलाइएका आरोपहरू निराधार, भ्रामक र योजनाबद्ध रहेको स्पष्ट पार्नुभयो।

उहाँले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले २१ सिट जितेर संसदमा भ्रष्टाचार र वेथितिविरुद्ध सशक्त आवाज उठाएको उल्लेख गर्दै भन्नुभयो, “सदन सुत्ने ठाउँ होइन, जनताको आवाज बुलन्द गर्ने थलो हो भन्ने कुरा हामीले प्रमाणित गर्यौं। तर बहुमत नहुँदा सबै एजेन्डा कार्यान्वयन गर्न सकेनौं।”

यस क्षेत्रका लागि रामग्राम नगरपालिकाका पूर्व मेयर गुप्तालाई अनुभव र नेतृत्व क्षमताका आधारमा उम्मेदवार बनाइएको पाण्डेको भनाइ थियो। उम्मेदवार छनोट प्रक्रियामा छ जनाबीच प्रतिस्पर्धा भए पनि सहमतिमै गुप्तालाई अघि सारिएको उहाँले जानकारी दिनुभयो। “टिकटका लागि कुनै रकम लेनदेन भएको छैन, जित सुनिश्चित हुने व्यक्तिलाई नै पार्टीले उम्मेदवार बनाएको हो,” उहाँले स्पष्ट पार्नुभयो।

गुप्ता मेयर रहँदा विकासको गति बढाएको दाबी गर्दै उहाँविरुद्ध ‘कुहिएको चामल वितरण’ जस्ता आरोप षड्यन्त्रपूर्ण रूपमा फैलाइएको पाण्डेले बताउनुभयो। उहाँका अनुसार सो प्रकरणमा गुप्ता संलग्न नरहेको र दोषी नभएको कुरा अदालतको फैसलामा समेत उल्लेख छ।

पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव अमर पाठकले एआइ प्रविधिको दुरुपयोग गरी फेक न्यूज तयार पारिएको आरोप लगाउँदै यसलाई उम्मेदवारको चरित्र हत्या गर्ने नियोजित प्रयास भएको बताउनुभयो। “पार्टी एकताबद्ध छ, टिकटको लागि पैसाको कुनै चलखेल भएको छैन,” उहाँले भन्नुभयो।

उम्मेदवारका प्रतिनिधि राकेश गुप्ताले रास्वपाको बढ्दो जनसमर्थन देखेर विपक्षीहरू आत्तिएको दाबी गर्दै मतदातालाई दुष्प्रचारमा विश्वास नगर्न आग्रह गर्नुभयो। निर्वाचन नजिकिँदै जाँदा प्रविधिको दुरुपयोगमार्फत फैलाइने भ्रम र गलत सूचनाप्रति सतर्क रहनुपर्ने उहाँको भनाइ थियो।

थप समाचार

ताजा खबर