
पश्चिम नवलपरासी, बर्दघाट–१२ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको रूपान्तरण प्रक्रियामा विनोद चौधरीको भूमिका अग्रस्थानमा रहेको बताएका छन्। आगामी निर्वाचनमा चौधरीको जितलाई “अनिवार्य” रहेको उल्लेख गर्दै उनले उनलाई रुपान्तरित कांग्रेसको महत्वपूर्ण अंगका रूपमा चित्रित गरे।
पश्चिम नवलपरासी क्षेत्र नं. १ अन्तर्गत बर्दघाट–१२ मा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै शर्माले भने, “अहिले कांग्रेस बदलिएको छ, र कांग्रेसमा परिवर्तन ल्याउन विनोद चौधरीको भूमिका अग्रस्थानमा छ।” उनका अनुसार छोटो कार्यकालमै चौधरीले उल्लेखनीय काम गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
शर्माले चौधरीको क्षेत्रप्रतिको प्रतिबद्धता उदाहरणसहित प्रस्तुत गर्दै भने, “हामीले उहाँलाई संसदमा चाहिने मान्छे हो, काठमाडौंबाट लड्नुस् भन्यौं। तर उहाँले भन्नुभयो — ‘म पश्चिम नवलपरासीबाटै लड्छु, त्यहाँ धेरै विकास गर्नु छ।’” उनले यसलाई चौधरीको क्षेत्रप्रतिको निष्ठा र विकासप्रतिको दृढ संकल्पको प्रमाणका रूपमा व्याख्या गरे।
सम्बोधनका क्रममा शर्माले आगामी निर्वाचनलाई सामान्य जित–हारको प्रतिस्पर्धा नभई देशको विषम परिस्थितिलाई सम्हाल्ने क्षमताको परीक्षा भएको बताए। “यो चुनाव जीत र हारको चुनाव होइन, यो चुनाव कसले देशको विषम परिस्थितिलाई सम्हाल्न सक्छ भन्ने चुनाव हो,” उनले भने।
भदौ २३ र २४ मा भएको ‘जेन जी आन्दोलन’ले खोजेको परिवर्तन दल, कार्यशैली र प्रशासनिक संरचनामा देखिनुपर्ने धारणा राख्दै शर्माले जोड दिए, “जो आफैं परिवर्तन हुन सक्छ, उसैले परिवर्तन ल्याउन सक्छ।”
देशको खलबलिएको अवस्थालाई स्थिरता दिन सक्ने क्षमता केवल कांग्रेससँग रहेको दाबी गर्दै उनले नेता देखि नेतृत्वसम्म पार्टीले आफूलाई रूपान्तरण गरेको उल्लेख गरे।

