परासी — नेपाल नेत्र ज्योति संघअन्तर्गत सञ्चालित डा. विनोद निता कंडेल आँखा अस्पताल, रामग्राम–३ परासीको ३५औँ वार्षिक साधारणसभा शनिबार अस्पताल परिसरमा सम्पन्न भएको छ।
नेपाल नेत्र ज्योति संघ नवलपरासीका शाखा सभापति देवेन्द्रराज कंडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख यादवले आँखा उपचारको पहुँचबाट टाढा रहेका बिरामीसम्म अस्पतालले पुर्याएको सेवा सराहनीय रहेको उल्लेख गर्नुभयो। उहाँले आँखाजस्तो संवेदनशील अङ्गको उपचारमा पालिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै मानवीय सेवामा राजनीतिक दृष्टिकोण राख्न नहुने धारणा राख्नुभयो।
अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष मञ्जु कंडेलले दुःखद परिस्थितिबाट स्थापना भएको अस्पताललाई समयअनुसार स्तरोन्नति गर्दै ल्याइएको बताउँदै स्वास्थ्य सेवालाई दलीय दृष्टिकोणबाट नहेर्न आग्रह गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासी (ब.स.प.)का प्रमुख भगौती यादवले अस्पतालले सरकारी अस्पतालसरह नागरिककेन्द्रित सेवा दिइरहेको उल्लेख गर्दै सेवा अझ प्रभावकारी र विश्वासनीय बनाउन सबै पक्षको ध्यान आवश्यक रहेको बताउनुभयो।
साधारणसभामा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार, नेकपा एमालेका श्याम बस्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि पाण्डे, नेकपाका भविश्वर आजाद, जसपा नेपालका पुरन चौधरी, पत्रकार , समाजसेवी राजेन्द्र सहानी, कृष्ण लामिछानेलगायतले अस्पतालले पुर्याएको योगदानबारे धारणा राख्नुभएको थियो।
अस्पतालका व्यवस्थापक अजय पाण्डेले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका सेवा कार्यक्रम तथा उपचार प्रगतिबारे जानकारी गराउनुभएको थियो। सो अवसरमा नेत्र ज्योति संघ नवलपरासीका सचिव संजय कर्णले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष अमरचन्द्र अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
वि.सं. २०४५ वैशाख २६ गते स्थापना भएको अस्पतालमा हाल विशेषज्ञ चिकित्सकसहित ३५ जना कर्मचारी कार्यरत छन्। अस्पतालले दैनिक करिब २५० बिरामीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
साधारणसभाका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने तीन कर्मचारी—खेमबहादुर चौधरी, कर्णबहादुर चौधरी र नारायण यादवलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
यसैबीच, नेत्र ज्योति संघका पूर्व कोषाध्यक्ष स्वर्गीय महेशबहादुर थापाको स्मृतिमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको अस्पतालले जनाएको छ। उक्त कोष स्वर्गीय थापाका छोरा मनोज थापा र बुहारी अम्बु थापाको आर्थिक सहयोगमा स्थापना गरिएको व्यवस्थापक पाण्डेले जानकारी दिनुभयो।

