नवलपरासी । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नवलपरासी पश्चिम–१ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। आइतबार नेपाली काँग्रेसले आयोजना गरेको वृहत् चुनावी र मोटरसाइकल र्यालीले क्षेत्रको राजनीतिक माहोल थप तातिएको छ।
र्यालीलाई सम्बोधन गर्दै नेपाली काँग्रेस नवलपरासी जिल्ला संयोजक देवेन्द्रराज कँडेलले काँग्रेसको पक्षमा स्पष्ट जनलहर देखिएको दाबी गरे। उनले प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरी लाई ‘राष्ट्रिय ब्रान्ड’ को संज्ञा दिँदै यस्तो व्यक्तित्व पाउनु क्षेत्रका लागि विकासको ठूलो अवसर भएको बताए।
“विनोद चौधरी नेपालकै स्थापित ब्रान्ड हुनुहुन्छ। पश्चिम नवलपरासीले यस्तो ब्रान्ड पाउनु गर्वको विषय हो। अब उहाँको अनुभव, पहुँच र क्षमतालाई विकासका अवसरमा रूपान्तरण गर्नुपर्छ,” कँडेलले भने। नवलपरासी पश्चिम–१ काँग्रेसको परम्परागत गढ क्षेत्र रहेको उल्लेख गर्दै उनले काँग्रेसको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
विनोद चौधरीको नेतृत्वमा आयोजित मोटरसाइकल र्यालीमा हजारौँ कार्यकर्ता तथा समर्थकको सहभागिता रहेको थियो। चौपत्ता खुला चौरबाट सुरु भएको र्याली त्रिवेणी चोक, महलवारी, रुपौलिया, बेलाटारी, विजयनगर, गुठी प्रसौनी, पकलिहवा, बसहिया, मुजहवा र धननदवा हुँदै सम्पन्न भएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार ले काँग्रेसको जित सुनिश्चित रहेको दाबी गर्दै पार्टी पङ्क्तिलाई एकताबद्ध भएर उम्मेदवारलाई विजयी गराउन आह्वान गरे।
उम्मेदवार विनोद चौधरीले पार्टी नेतृत्व, कार्यकर्ता तथा समर्थकप्रति आभार व्यक्त गर्दै विकासलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याए। उनले क्षेत्रको विकासको जग बसिसकेको उल्लेख गर्दै त्यसलाई पूर्णता दिन सबै मिलेर अघि बढ्ने बताए।
निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी पश्चिम–१ मा दलहरूबीचको चुनावी प्रतिस्पर्धा थप चर्किँदै गएको छ।

