26.1 C
Parāsi
Friday, May 1, 2026
spot_img

उखु किसानको दीर्घकालीन समस्या समाधानमा पहल गर्ने चौधरीको घोषणा

नवलपरासी। पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरी ले उखु किसानका समस्या समाधानका लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन अभियानअन्तर्गत प्रतापपुर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा घरदैलो कार्यक्रमका क्रममा किसानहरूसँग भेटघाट गर्दै उनले दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल गर्ने आश्वासन दिए।

घरदैलोका क्रममा उखु किसानहरूले समयमै अनुदान रकम र उखुको भुक्तानी नपाउँदा वर्षौंदेखि आर्थिक संकट झेल्दै आएको गुनासो गरेका थिए। किसानहरूका अनुसार क्रसिङ सिजन सुरु भइसक्दा पनि सरकारले समयमै न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा अन्योल सिर्जना हुने गरेको छ। साथै, चिनी मिलहरूले भुक्तानी अल्झाएर राख्ने प्रवृत्तिका कारण धेरै किसान विस्थापित हुने अवस्थामा पुगेको बताएका छन्।

किसानका गुनासा सुनेपछि चौधरीले विगतमा पनि उखु किसानका विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा आवाज उठाउने बताए। उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने कृषि क्षेत्रका लागि छुट्टै किसानमैत्री नीति निर्माण गरी मूल्य निर्धारण र भुक्तानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस क्षेत्रमा अधिकांश नागरिक कृषि पेशामा आबद्ध रहेकाले कृषकका समस्या समाधान नगरेसम्म समग्र आर्थिक अवस्था सुधार नहुने स्थानीयहरूको भनाइ छ। केही किसान उखु खेतीबाट विस्थापित भई केरा खेतीतर्फ आकर्षित भए पनि बजारीकरण र उचित मूल्यको अभावका कारण सन्तुष्ट हुन नसकेको बताएका छन्।

घरदैलो कार्यक्रममा चौधरीले आफू निर्वाचित भएपछि झन्डै ३० महिना मात्रै काम गर्न पाएको उल्लेख गर्दै अधुरा कामलाई पूर्णता दिन पुनः मतदाताको घरदैलोमा आएको बताए। उनले ग्रामीण सडक विस्तार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। स्थानीयले पनि क्षेत्रका समस्या राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउन सक्ने सक्षम उम्मेदवारका रूपमा चौधरीप्रति विश्वास व्यक्त गरेका छन्।

थप समाचार

ताजा खबर