36 C
Parāsi
Monday, April 6, 2026
spot_img

“काम बोल्छ, मान्छे चिन्ने बेला आएको छ,”भरत थापा

भरत थापा ले कोरोना महामारीको कठिन समयमा आफूले व्यक्तिगत जोखिम मोलेर नागरिकको सेवामा खटिएको स्मरण गर्नुभएको छ। पश्चिम नवलपरासी क्षेत्र नम्बर २ का उम्मेदवार तथा सुनवल नगरपालिका का पूर्व नगर प्रमुख थापाले सोमबारदेखि सुरु भएको चुनावी प्रचार–प्रसार अभियान अन्तर्गत मतदाताको घरदैलो कार्यक्रममा यस्तो बताउनुभएको हो।

पत्रकारहरूसँग कुराकानी गर्दै थापाले आफू मेयर रहँदा झन्डै २८–३० जना कोरोना संक्रमितका शव आफैंले उठाएर सुरक्षित दाहसंस्कार तथा अन्त्येष्टि व्यवस्थापन गरेको उल्लेख गर्नुभयो। महामारीका बेला धेरैले त्रासका कारण पछि हटिरहेका अवस्थामा स्थानीय सरकार जनताको साथमा छ भन्ने भरोसा दिलाउन आफू अग्रपंक्तिमा उभिएको उहाँको भनाइ छ।

“त्यो बेला जिम्मेवारीबाट पछि हट्ने अवस्था थिएन, जनताको दुःख आफ्नै दुःख ठानेर काम गरेँ,” थापाले भन्नुभयो।

कोरोना अस्पताल निर्माणमा करिब २ करोड संकलन

थापाका अनुसार कोरोना नियन्त्रण तथा उपचारका लागि नगद र जिन्सी सहयोगमार्फत करिब २ करोड रुपैयाँ बराबरको स्रोत संकलन गरी स्थानीयस्तरमै कोरोना अस्पताल निर्माण गरिएको थियो। यसबाट सुनवलका नागरिकले आफ्नै क्षेत्रमै उपचार सेवा पाएको र समयमै उपचार पाएर धेरैको ज्यान जोगिएको उहाँले दाबी गर्नुभयो।

“संकटका घडीमा उपचारका लागि टाढा धाउन नपरोस् भन्ने हाम्रो लक्ष्य थियो, त्यसले कयौं नागरिकलाई मृत्युको मुखबाट फर्कायो,” उहाँले उल्लेख गर्नुभयो।

पूर्व नगर प्रमुख थापाले आफू उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा लगातार तीन वर्ष संघलाई उत्कृष्ट बनाउन सफल भएको पनि बताउनुभयो। सुनवलको समग्र विकासका लागि स्पष्ट योजना र खाकासहित काम गरिएको उहाँको भनाइ छ।

घरदैलो कार्यक्रममा मतदाताहरूले शिक्षा, स्वास्थ्य, सिँचाइ, रोजगारी तथा भौतिक पूर्वाधारका विषयमा सुझाव दिएका थिए। थापाले आफूले गरेका कामको मूल्यांकन गर्ने समय अब जनताकै हातमा रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत जनमतको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“काम बोल्छ, मान्छे चिन्ने बेला आएको छ,” भन्दै उहाँले आफू नगर प्रमुख हुँदा प्राप्त हुने सेवा–सुविधा नलिई समाजसेवामा खर्चिएको स्मरण गर्नुभयो। जनप्रतिनिधि सेवकको भावनासहित अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

 

 

थप समाचार

ताजा खबर