नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विनोद चौधरी चुनावी अभियानलाई तीव्र बनाउँदै विभिन्न वडामा कांग्रेस कार्यकर्तासँग प्रत्यक्ष संवादमा जुटेका छन्। बर्दघाट वडा नं. ७, सरावल वडा नं. ५ र ६ तथा प्रतापपुर वडा नं. १ र २ मा आयोजित छलफल कार्यक्रममा उनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य भएको दाबी गर्दै कांग्रेस अब स्पष्ट विकास एजेण्डासहित अघि बढेको बताएका छन्।
चौधरीको भनाइ केवल आन्तरिक एकताको घोषणामा सीमित छैन, यो विगतका कमजोरी स्वीकार्दै मतदातालाई भरोसा दिलाउने रणनीतिका रूपमा पनि देखिन्छ। उनले विगतमा कांग्रेसभित्रको गुटगत प्रवृत्तिका कारण ‘तेस्रो पक्ष’ले फाइदा लिएको स्वीकार गर्दै अहिले त्यो
अवस्था नरहेको दाबी गरे। यो अभिव्यक्ति कांग्रेसले विगत निर्वाचनमा भोगेको क्षतिबाट पाठ सिकेको सन्देश दिन खोजिएको रूपमा बुझ्न सकिन्छ।
उनले कांग्रेसको प्राथमिकतामा स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सृजना रहेको उल्लेख गर्दै विकास र समुन्नतिको मुद्दालाई चुनावी बहसको केन्द्रमा राख्न खोजेका छन्। विशेष गरी आर्थिक मुद्दालाई जोड दिनु उनको उम्मेदवारीलाई केवल राजनीतिक होइन, विकासमुखी नेतृत्वका रूपमा प्रस्तुत गर्ने प्रयास देखिन्छ।
आफू नयाँ अनुहार नभएको दाबी गर्दै चौधरीले स्थानीय समस्या र आवश्यकताबारे पूर्ण जानकारी रहेको बताएका छन्। यसले उनलाई अनुभवी र निरन्तरताको पक्षधर उम्मेद्वारका रूपमा उभ्याउने उद्देश्य झल्किन्छ। साथै, उनले आफ्नो पाँच वर्षे कार्यकालमध्ये ३० महिना मात्र काम गर्न पाएको स्वीकार गर्नुले आत्मआलोचनासहित मतदातासँग पुनः अवसर माग्ने राजनीतिक संकेत दिन्छ।
नागरिकता समस्या समाधानलाई आफ्नो मुख्य उपलब्धिका रूपमा प्रस्तुत गर्नु चौधरीको अभियानको महत्वपूर्ण पक्ष हो। उनका अनुसार विगत ३० महिनामै नागरिकताको जटिल समस्या समाधान भएको छ भने भूमि सम्बन्धी विषयहरू पनि अगाडि बढिरहेका छन्। यी उपलब्धिलाई उनले ‘विकासको जग’ का रूपमा चित्रण गर्दै आगामी कार्यकालमा त्यसलाई थप गति दिने प्रतिबद्धता जनाएका छन्।
समग्रमा, विनोद चौधरीको चुनावी अभियान विगतका कमजोरी स्वीकार, उपलब्धि प्रस्तुत र भविष्यका प्रतिवद्धतामार्फत मतदाताको विश्वास पुनः आर्जन गर्ने दिशामा केन्द्रित देखिन्छ। अब मतदाताले उनको दाबी र प्रतिवद्धतालाई कत्तिको विश्वसनीय ठान्छन् भन्ने कुरा नै निर्वाचन परिणामको निर्णायक पक्ष बन्नेछ।

