कोरोना भाइरस को कारणले बिगत् २ वर्ष होलि मनाउन नपाएको उल्लासको पौराणिक पर्व होली आज हामी बीच आईपुगेको छ । सद्भाव, भाइचाराको भावनाका साथ मनका सद्भाव साटासाटको अवसर पनि हो होली । वर्षभरि काम विशेषले बाहिर रहेकाहरु पनि होलीमा घर फर्कने भएका कारण यो पर्ब भेटघाटमा सुख दुःख साटासाटको अवसर पनि हो । विकृति विसंगतिका विरुद्धमा व्यंग्य गरेर विरोध जनाउने समयका रुपमा पनि यसलाई लिने गरिन्छ । तराई मधेशमा ‘होरिया’ (होली गीत) गाउँदै वातावरणलाई रोमाञ्चित तुल्याइने यस अवसरमा हाम्रो पनि सबैमा मंगलमय शुभकामना !
फागु पूर्णिमाका नामले समेत चिनिने होली रंग अवीरको पर्व हो । मीठो खाने र रमाउनेमा मात्रै यसको महत्ता सिमित रहेको मानियो भने होली पर्वको विशेषता संकुचित बन्न सक्दछ । पौराणिक मानिएको यो पर्वको गुढ रहस्य भनेको असत्यमाथि सत्यको विजय नै हो । आफ्ना मनका क्लेश, दुर्भावलाई अन्त्य गरी सबैको भलो चिताउने र दुष्कर्म छोडेर सत्कर्ममा लाग्ने प्रेरणादायक यस पर्वमा मुलुक निर्माणको जिम्मेवारीमा रहेका सबैमा जनहितकारी काम गर्न ऊर्जा प्राप्ती होस् भन्ने कामना गरियो भने अन्यथा नहोला ।
होलीको अवसर पारेर यस्तो कामना गरिएपनि मुलुकको अवस्था हेर्दा धेरै काम गर्न बाँकी नै रहेको भान हुन्छ । परिवर्तनका बाहक राजनीतिक दलहरुका बीचमा यतिवेला गुटवन्दी छ । सत्तापक्ष र विपक्षमा दलहरु ध्रुवीकृत भएको अवस्था मात्र होइन एकै दलभित्र पनि गुटवन्दी र विवाद झांगिएको देखिन्छ । राजनीतिक दलहरु आपसकै विवादमा अलमलिने गरेका कारण मुलुक र जनताप्रतिको जिम्मेवारीको काम ओझेलमा पर्दै गएको छ ।
होलीको यस अवसरमा विकृति र संकृचित मानसिकता परित्याग गर्दै सत्कर्मका लागि सबैमा जागरण आओस्, शुभ होली