प्रदेश ५ मा पूर्ण विद्युतीकरण अभियान चलाइँदै

नेपाल विद्युत्मा आत्मनिर्भर बन्दै जान लागिरहेका बेला प्रदेश नं. ५ मा पूर्ण विद्युतीकरण अभियान चलाइने भएको छ । ‘समृद्ध नेपाल र उज्यालो नेपाल बनाऔं’ नारासहित यो अभियान चलाउन लागिएको हो ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको सहकार्यमा प्रदेश ५ मा यस्तो अभियान चलाउन लागिएको हो । अभियान सञ्चालन सम्बन्धमा आइतबार मुख्यमन्त्री शंकर पोखरेलसंग मुख्यमन्त्रीकै कार्यालयमा महासंघको टोलीले छलफल गरेको हो ।
महासंघका अध्यक्ष नारायण ज्ञवाली, सचिव यमबहादुर प्रसाईं, कोषाध्यक्ष ज्ञानु पाण्डे, इन्जिनियर अजय आचार्य, लेखा अधिकृत रवीन्द्र काफ्लेसहितको टोलीले आइतबार मुख्यमन्त्री पोखरेलसंग भेट गरी प्रदेश नं. ५ मा पूर्ण विद्युतीकरण अभियानबारे छलफल गरेको हो ।
संघीय सरकारले आगामी तीन वर्ष्भित्र सबै नेपालीका घरमा विद्युतको पहुँच पु¥याउने कार्यक्रम राखेकोमा सामुदायिक विद्युत् उपभोक्ता महासंघले यसमा सघाउन लागेको महासंघका अध्यक्ष ज्ञवालीले बताए । स–साना उद्यमशीलता बढाउन र विद्युत् खपतमा विद्युतीय चुलोको प्रयोग बढाउन पनि महासंघले सहयोग गर्ने उनले बताए ।
नेपालको ५४ जिल्लामा तीन सय संस्थामार्फत सामुदायिक विद्युतीकरण भइरहेको जानकारी दिँदै अध्यक्ष ज्ञवालीले यसबाट ५ लाख ५० हजार घर धुरी लाभान्वित भएको जानकारी दिए ।
सामुदायिक विद्युतीकरणमार्फत प्रदेश नं. ५ मा ७० हजार घरधुरीमा विद्युतीकरण गरिएको र बाँकी घरधुरीमा विद्युतीकरणको लागि अभियान चलाउन लागिएको महासंघले जनाएको छ । प्रदेश नं. ५ का १८ प्रतिशत घरधुरीमा अझै विद्युत्को पहुँच नपुगेको बताइएको छ ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले अभियानमा प्रदेश सरकारले सहयोग गर्ने बताए । सामुदायिक विद्युतीकरण अन्तर्गत काठका पोल विस्थापित गरी ट्युबलर पोल प्रदेश सरकारले ढुवानीसहित उपलब्ध गराउने प्रतिबद्धता पनि मुख्यमन्त्री पोखरेलले व्यक्त गरेको महासंघले जनाएको छ ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको केन्द्रीय कार्यालय ललितपुरको कुपण्डोलमा रहेको छ ।