आज माघ १ गते अर्थात माघे संक्रान्ति धुमधामका साथ मनाउँदै ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशिमा प्रवेश गर्ने साउने संक्रान्ति र मकर राशिमा प्रवेश गर्ने माघे संक्रान्तिलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ।

यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।

माघे– मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।

देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ । तराईका बासिन्दाले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिमा घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो र उर्जा दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ। मकर संक्रान्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ।

यस्तै थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ ।