‘उपसभामुखले राजीनामा नदिँदासम्म सभामुखको निर्वाचन हुदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङले उपसभामुखले राजिनामा नदिँदासम्म सभामुख चयनको प्रक्रिया अगाडी नबढ्ने बताउनु भएको छ । उपसभामुखले राजिनामा नदिएसम्म नेकपाले सभामुखमा उम्मेदवारी दिन नपाउने भएकाले पहिला उहाँले उपसभामुख छोड्नु पर्ने गुरुङले तर्क गर्नुभयो ।

उहाँले सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यस्था भएकाले उहाँको राजीनामा नआएसम्म नेकपाले निर्वाचन प्रक्रिया अगाडी बढाउन नसक्ने बताउनु भयो । “उपसभामुखले राजिनामा नदिदासम्म सभामुख चयन प्रक्रिया अगाडी बढ्दैन,” नेपाली रेडियो नेटवर्कसँग उहाँले भन्नुभयो ।

प्रमुख सचेतक गुरुङले पार्टीको निर्देशन उपसभामुख शिवमाया तुम्बाहाम्फेले मान्नु पर्ने जिकिर पनि गर्नुभयो । उपसभामुखलाई काम चलाउ जिम्मेबारी मात्रै दिन मिल्ने तर कार्यकारी जिम्मेबारी दिन नमिल्ने तर्क गर्दै उहाँले निर्वाचन गराउने अधिकार उपसभामुखलाई नभएको दावी पनि गर्नुभयो ।

उपसभामुखले राजीनामा दिएपछि जेष्ठ सदस्यको नेतृत्वमा सभामुख र उपसभामुख निर्वाचनको प्रक्रिया अगाडी बढ्ने उहाँको भनाई छ ।

गुरुङले नीतिगत निर्णय गर्न नमिल्ने भएकाले उपसभामुखले प्रतिनिधिसभाको बैठक चलाउन नमिल्ने बताउनुभयो । उहाँले कानुन र ऐन अनुसार सभामुखले बैठक सञ्चालन गर्न सक्ने तर, नीतिगत निर्णय गरी प्रक्रियालाई अगाडी बढाउन नमिल्ने बताउनुभयो ।

गुरुङले उपसभामुखले राजीनामा नदिएसम्म नेकपाले सभामुखमा उमम्मेदवारी दिन नपाउने भएकाले पार्टीले उहाँलाई उपसभामुख छोड्न आग्रह गरेको बताउनुभयो । अहिले सम्म नेकपाले सभामुख नछोड्ने निर्णय गरेकाले भोली उपसभामुखका कारण प्रतिपक्षलाई दिएर उपसभमुखमै बस्नुपर्ने अवस्था आएमा पार्टीले अर्को निर्णय गर्ने गुरुङको भनाई छ ।

अहिले सम्म यो विषय पार्टीभित्र प्रवेशनै नगरेको भन्दै गुरुङले उपसभमुख शिवमाया तुम्बाहाम्फको राजीनामा अहिलेको लागि प्रमुख भएको दावी गर्नुभयो । उहाँले सभामुखको मात्रै निर्वाचन गराएको खण्डमा नेकपाले सभामुखको उमेद्वार दिन नपाउने भएकाले यो विकल्पमा पनि पार्टीले सोचि नसकेको उल्लेख गर्नुभयो । गुरुङले राजीनामा दिन उपसभामुखलाई पार्टीले पटक पटक आग्रह गरेको भन्दै उहाँलाई ह्वीप लगाउन नसकिने बताउनुभयो ।