नागरिक समाजको संयोजकमा ठाकुर

परासी, १३ असोज ः

नागरिक समाज पश्चिम नवलपरासीको संयोजकमा कैलाश ठाकुर चयन हुनु भएको छ । निवर्तमान संयोजक शंभु उपाध्यायको अध्यक्षतामा सोमबार परासीमा सम्पन्न भेलाले ठाकुरलाई संयोजकमा चयन गरेको हो । संयोजकका लागि भेलाबाट सुमन गोपाल आचार्य र ठाकुरको नाम प्रस्ताव गरिएको थियो । लामो समयपछिको छलफलपछि आचार्यले ठाकुरलाई प्रस्ताव गर्नुभएको थियो । भेलाले समाजको कार्यअवधि २ वर्षको हुने प्रस्ताव गरेको छ । यसअघि कार्यअवधिको समय तोकिएको थिएन । जिल्ला समिति विस्तार भने अध्यक्षले चयन गर्ने अधिकार भेलाले दिएको छ ।
भेलामा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले पछिल्लो पटक नागरिक समाजको भूमिका बढ्दै गएको बताउनु भएको थियो । तीनै तहका सरकार, राजनीतिक दल, सरकारी निकायलगायत बाट हुन सक्ने कमजोरीलाई केलाउँदै नागरिकहरुको तर्फबाट निगरानी बढाउनु पर्नेमा उहाँहरुले जोड दिनुभएको थियो । भेलामा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, बुद्धिजिवीलगायतको सहभागिता रहेको थियो ।