सुनवल वनकट्टीमा ट्रमा सेन्टर स्थापना गर्न उवासंघको मन्त्री यादव समक्ष प्रस्ताव

परासी, २५ भदौ ।
उद्योग वाणिज्य संघ नवलपरासीले सुनवल नगरपालिका–५ वनकट्टीमा ५० शैयाको ट्रमा सेन्टर स्थापना गर्न नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसमक्ष प्रस्ताव गरेको छ ।
बुधबार उद्योग वाणिज्य संघ नवलपरासीले मन्त्री यादवको स्वागतमा परासीमा गरेको कार्यक्रममा संघका अध्यक्ष केशव भण्डारीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गर्नुभएको हो ।
नेपाल सरकारले सुनवल–८ को स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरी शिलान्यास समेत गरेपनि उक्त अस्पतालले सरकारले प्रस्ताव गरेकै ठाउँमा भौगोलिक,जनसंख्या र दुरीका हिसावले अनुपयुक्त भएकोले सवैको पहुँच पर्ने ठाउँमा १५ शैयाको मात्रले नपुग्ने हुँदा पचास शैयाको ट्रमा सेन्टर नै निर्माण गर्न माग गर्नुभएको छ ।
सुनवल, रामनगर र स्वाठी क्षेत्रका नागरिकलाई समेत पायक पर्ने उपयुक्त स्थान वनकट्टी हुने र त्यस क्षेत्रका एक लाख बढीले सेवा लिन पाउने अध्यक्ष भण्डारीको भनाई छ । संघका अध्यक्ष भण्डारीले नवलपरासीमा सुविधा सम्पन्न शिक्षण अस्पताल निर्माणका लागि पनि मन्त्री यादवको ध्यानकर्षण गराउनुभएको छ ।
उद्योग वाणिज्य संघले पृथ्वीचन्द्र अस्पताल परासीलाई सुविधा सम्पन्न बनाउन, महेशपुर भन्सारमा आवश्यक पूर्वाधार र सुविधा थप्न, भुजहवा र विष्णुपुरा भन्सारमा रोकिएको सुविधा सुचारु गर्न, भारतीय सवारी साधनमाथि सीमा गरिएको कडाई हटाउन,भूमही भैरहवा मार्गलाई औद्योगिक करिडोरको रुपमा विकास गर्न, महेशपुरदेखि परासी, सुनवल हुँदै पाल्पा जोड्ने सडकको स्तरोन्नति गर्न माग गर्नुभएको थियो ।
उपप्रधानमन्त्री यादवले सुनवलमा अस्पताल सरकारले निर्णय गरेको ठाउँमा बन्ने बताउँदै राजमार्ग क्षेत्र र धेरै दुर्घटना हुने क्षेत्रलाई मध्यनजर गर्दै ट्रमा सेन्टर खोल्न सरकार सकरात्मक रहेको उल्लेख गर्नुभयो । त्यसका लागि नगरपालिकासहितको टोली लिएर डेलिगेशन आउन आग्रह गर्दै मन्त्री यादवले ट्रमा सेन्टर स्थापनाका लागि आवश्यक अध्ययन प्रक्रिया थाल्ने बताउनुभयो ।
उहाँले निजी क्षेत्रको सहभागिता विना मुलुकको समृद्धि सम्भव नहुने बताउनुभएको छ । सरकारी निजी साझेदारी अवधारणाबाट मात्रै विकास र समृद्धि प्राप्त हुने उहाँको भनाई छ । उद्योग वाणिज्य संघले राखेका मागमा छलफल गर्ने उहाँले आश्वासन पनि दिनुभयो ।