नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले सबै नेता–कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत रामग्राम नगरपालिकामा भएको घरदैलो अभियानपछि परासी सदरमुकाममा सम्बोधन गर्दै उहाँले कांग्रेसको पराजयपछि यस क्षेत्रको विकासले अपेक्षित गति लिन नसकेको दाबी गर्नुभयो।
उहाँका अनुसार यस क्षेत्रबाट कांग्रेसले २०५१, २०५६ र २०७४ सालमा विजय हासिल गरेको थियो र समग्र विकास कांग्रेस नेतृत्वमै सम्भव भएको उल्लेख गर्नुभयो। पार्टी केन्द्रीय समितिले कँडेललाई जिल्लाको निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको छ।
कार्यक्रममा पार्टी क्षेत्रीय सभापति माधव पाण्डेको अध्यक्षता रहेको थियो। त्यस अवसरमा कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक र उम्मेदवार भीमबहादुर थापाले पनि मतदातामाझ देखिएको उत्साहले कांग्रेसको जित सुनिश्चित हुने दाबी गर्नुभयो।
नेता कँडेलले उम्मेदवारलाई आफूले गर्न सक्ने काम मात्र मतदातासमक्ष प्रस्तुत गर्न सुझाव दिँदै यस क्षेत्रमा सञ्चालन भइरहेका अधुरा योजनाहरू पूरा गर्न पनि कांग्रेसको जित आवश्यक रहेको उल्लेख गर्नुभयो।

