32 C
Parāsi
Tuesday, March 17, 2026
spot_img

कांग्रेस उम्मेद्वार भिम बहादुर थापा (भरत)द्वारा १० बुँदे विकास सङ्कल्प सार्वजनिक ।

परासी । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस का तर्फबाट नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नं. २ का उम्मेद्वार भिम बहादुर थापा (भरतले) १० बुँदे विकास सङ्कल्प सार्वजनिक गर्नुभएको छ। उहाँले समता, सुशासन, पारदर्शिता र समुन्नत नवलपरासी निर्माण नै आफ्नो मूल उद्देश्य रहेको बताउनुभयो।

कांग्रेसले पछिल्लो समय गगन कुमार थापा को नेतृत्वमा परिवर्तनको मर्मलाई आत्मसात गर्दै अघि बढिरहेको उल्लेख गर्दै उहाले जेन–जी आन्दोलन तथा विभिन्न जनआन्दोलनका क्रममा सहादत प्राप्त शहीदका सपना साकार पार्न आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो। “बदलियो कांग्रेस, बदल्छौँ देश” र “अघि बढ्नेछ नवलपरासी” भन्ने नारासहित उहाँले जनताको पक्षमा संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो।

उम्मेद्वारले सार्वजनिक गर्नुभएको १० बुँदे सङ्कल्पमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ। महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, महेशपुर–परासी, सुनवल–महलपोखरी, भुमही–पाल्पा हुँदै कालीगण्डकी करिडोर जोड्ने तथा भुमही–परासी–भैरहवा सडकलाई औद्योगिक करिडोरका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। साथै, एकीकृत औद्योगिक ग्राम र अटो भिलेज निर्माण, सुनवल हिलपार्कको विकास तथा रामग्राम, सरावल, पाल्हीनन्दन र सुनवल क्षेत्रमा देखिएको नदी कटान र डुबान समस्या समाधान गर्ने प्रतिबद्धता जनाइएको छ।

शिक्षा क्षेत्रमा डिजिटल विद्यालय, ई–लाइब्रेरी, विद्यालय शिक्षा ऐन पारित गर्न पहल, रोजगारमूलक तथा प्राविधिक शिक्षामा जोड दिइने बताइएको छ। स्वास्थ्यतर्फ पृथ्वीचन्द्र अस्पतालको स्तरोन्नति, नर्सिङ कलेज स्थापना, विद्यालय नर्स कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा तथा जेष्ठ नागरिक स्याहार केन्द्र सञ्चालन गर्ने योजना समेटिएको छ।

कृषि क्षेत्रमा उखु किसानको अनुदान समयमै भुक्तानी, सिँचाइ र बीमा सुविधा विस्तार, मल तथा उन्नत बीउको सहज आपूर्ति र कृषि पकेट क्षेत्र विकास गर्ने घोषणा गरिएको छ। धार्मिक तथा सांस्कृतिक पर्यटनअन्तर्गत रामग्राम स्तूपा, पण्डितपुर, तर्गौली तालको उत्खनन गरी बुद्ध सर्किटसँग जोड्ने तथा विभिन्न धार्मिक स्थलको संरक्षण र प्रवर्द्धन गरिने उल्लेख छ।

युवा र जेन–जी सशक्तीकरणका लागि रंगशाला र स्पोर्ट्स एकेडेमी, स्टार्टअप फण्ड, सीपमूलक तालिमको व्यवस्था गरिनेछ। महिला सशक्तीकरण अन्तर्गत सबै वडामा महिला उद्यम केन्द्र, सामाजिक न्याय, सुरक्षित समाज, मर्यादित महिनावारी र सुरक्षित मातृत्वका कार्यक्रम अघि बढाइने बताइएको छ।

त्यसैगरी, विपन्न वर्गका लागि आवास, भूमिहीनलाई जग्गाधनी पुर्जा, अपाङ्गतामैत्री सेवा, लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकार सुनिश्चितता, सफा वातावरणका लागि एकीकृत ल्यान्डफिल साइट र ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिइने प्रतिवद्धता जनाइएको छ। सुशासनका लागि सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्ने भरत थापा को भनाइ छ।

उहाले विकासका यी सबै एजेन्डा कार्यान्वयन गर्न आम मतदाताको साथ र विश्वास आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा समर्थन गर्न आग्रह गर्नुभएको छ।

थप समाचार

ताजा खबर