नवलपरासी — बिनोदकुमार चौधरी ले नवलपरासी जिल्लामा दीर्घकालीन महत्वका दर्जनौँ विकास आयोजनाहरू अघि बढाइएको बताएका छन्। ट्रमा सेन्टर, औद्योगिक ग्राम, हुलाकी राजमार्ग निर्माण, सुस्ता भोलुङ्गे पुल तथा सुस्तापारि विद्युतीकरण, युवा सीप विकास तालिम, सरावल र सुस्तामा अस्पताल, सबल केन्द्र, खजुरा पुल, पक्लिहवा र भुजहवामा बर्थिङ सेन्टर, चौपटा अस्पतालमा डायलासिस सेन्टर, युवा उद्यमशीलता प्रवर्द्धन
कार्यक्रम तथा गण्डक नहरमा बालुवा थिगाउने पोखरी निर्माणजस्ता योजनाहरूलाई उनले उदाहरणका रूपमा उल्लेख गरे।
उनका अनुसार केही आयोजना सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन्। अझै धेरै काम बाँकी रहेको स्वीकार गर्दै उनले आर्थिक विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताए। “नवलपरासीलाई विकास मोडलको जिल्लाका रूपमा स्थापित गर्ने दीर्घकालीन सोचसहित काम गरिरहेको छु,” उनले भने। विकास अभियानमा साथ दिएकोमा उनले जिल्लावासीप्रति आभार पनि व्यक्त गरे।
चौधरीले जनतालाई प्रश्न सोध्ने अधिकार स्थापित गर्न आफूहरू कांग्रेस परिवर्तन गरेर आएको उल्लेख गर्दै जनताका जिज्ञासाको जवाफ दिन सक्ने गरी काम गरिरहेको बताए। उनले आफ्नो ३१ बुँदे घोषणापत्रका प्रत्येक बुँदाको प्रगति विवरणसहित ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेको जानकारी दिए। “तपाईंहरू मलाई सधैं प्रश्न गर्न सक्नुहुन्छ,” उनको भनाइ छ।
कार्यकाल नसकिँदै संसद् विघटन (प्रतिबद्धतासहित) भएकाले केही योजना अधुरा रहेको उल्लेख गर्दै उनले तीमध्ये केही काम अहिले पनि निरन्तर अगाडि बढिरहेको र बाँकी काम पुनः निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। अधुरा काम किन पूरा हुन सकेनन् भन्ने विषयमा जनतालाई सिधै प्रश्न गर्न आग्रह पनि उनले गरे।
चौधरीका अनुसार ‘रिपोर्ट कार्ड’ को डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट प्रति उनको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध रहेको जानकारी उनको सचिवालयले दिएको छ।

