28.7 C
Parāsi
Friday, May 1, 2026
spot_img

पश्चिम नवलपरासीमा विकास चाहने भए विनोद चौधरी निर्विकल्प: शम्भुलाल श्रेष्ठ

बर्दघाट। बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीका कारण पश्चिम नवलपरासीमा विकासको गति बढेको बताएका छन्।

बर्दघाटमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले चौधरीकै पहलमा जिल्लामा महत्वपूर्ण पूर्वाधार विकासका काम अघि बढेको दाबी गरे। स्थानीय नेताहरुको अवरोधका बाबजुद पनि बर्दघाट नगरपालिका–चिसापानीमा ट्रमा सेन्टर स्थापना भई निर्माणको चरणमा पुगेको उनको भनाइ छ।

संघीय सरकारको करिब १२ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त ट्रमा सेन्टर काठमाडौँ बाहिर बन्ने पहिलो ट्रमा सेन्टर हुने दाबी गर्दै उनले यसले पश्चिम नवलपरासीको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने बताए। “यो नगर मात्र होइन, जिल्लाकै गौरवको विषय हो। यहाँ नआओस् भनेर चलखेल भइरहेको अवस्थामा पनि यदि पूर्व माननीय विनोद चौधरी नहुने हो भने यो सम्भव हुने थिएन,” श्रेष्ठले भने।

त्यस्तै, खजुरा पुल निर्माणका क्रममा पनि राजनीतिक अवरोध सिर्जना गरिएको उल्लेख गर्दै उनले चौधरीकै पहलमा व्यक्तिगत बैंकबाट ऋण व्यवस्थापन गरी ठेकेदारलाई काम अघि बढाउन सहयोग गरिएको बताए। हाल पुल ढलान प्रक्रियामा रहेको र आगामी निर्वाचनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

दुम्किबाससम्म पुर्‍याउने लक्ष्यसहित निर्माण भइरहेको वैकल्पिक सडकका लागि पनि चौधरीले १० करोड रुपैयाँ बजेट ल्याउने विश्वास दिलाएको श्रेष्ठले स्मरण गरे। केही स्थानीय व्यक्तिहरूले उक्त बजेट रोक्न डेलिगेसन गएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

प्रमुख श्रेष्ठले आगामी निर्वाचनमा विकास चाहने हो भने चौधरीजस्ता उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै उनलाई विकासका लागि निर्विकल्प नेता भएको बताए।

थप समाचार

ताजा खबर