28.7 C
Parāsi
Friday, May 1, 2026
spot_img

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ मा त्रिकोणात्मक प्रतिस्पर्धा

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ प्रतिनिधिसभा निर्वाचन यसपटक लुम्बिनी प्रदेशकै सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्रमध्ये एक बनेको छ। फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका नेता तथा अर्बपति व्यवसायी विनोद चौधरी पुनः उम्मेदवार बनेपछि यो क्षेत्र थप चासोको केन्द्रमा परेको हो।

यस निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिकाका सबै वडा, सुस्ता र प्रतापपुर गाउँपालिकाका सबै वडा तथा सरावल गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ समेटिएका छन्। निर्वाचन आयोगका अनुसार यहाँ एक लाख २३ हजार ८० मतदाता रहेका छन् भने १४८ मतदान केन्द्र तोकिएका छन्।

२०७९ को नतिजा र मत आधार

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट विनोद चौधरी विजयी भएका थिए। उनले २९ हजार ५१९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत ल्याएका थिए। रास्वपाका महेन्द्र सेनले १२ हजार ४९९, जनमतका गुलाब प्रसाद चौधरीले ५ हजार ९५२ र राप्रपाका भोजराज ढकालले ४ हजार ८२५ मत प्राप्त गरेका थिए।

समानुपातिकतर्फ काँग्रेसले सबैभन्दा बढी २३ हजार ५१५ मत ल्याएको थियो भने एमालेले १७ हजार १७२, रास्वपाले १० हजार ७१८, जनमतले ७ हजार ४१४ र राप्रपाले ६ हजार ४७७ मत प्राप्त गरेका थिए।

२०८२ को चुनावी समीकरण

यसपटक यस निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी मैदानमा छन्। नेपाली काँग्रेसबाट पुनः विनोद चौधरी उम्मेदवार छन् भने एमालेबाट रामप्रसाद पाण्डेय उम्मेदवार बनेका छन्। रास्वपाले काँग्रेसका पूर्व नेता विक्रम खनाललाई उम्मेदवार बनाएको छ।

त्यसैगरी नेकपाबाट सिन्धु जलेसा बुढाथोकी, राप्रपाबाट नवनित कुमार मिश्र, जसपा नेपालबाट हृदयेश त्रिपाठी र जनमत पार्टीबाट गणेश बहादुर चौधरी उम्मेदवार बनेका छन्।

एमालेको अन्तिम समयको निर्णय

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले यसपटक सूर्य चिन्हबाट चुनाव लड्न अस्वीकार गरेपछि नेकपा एमालेले अन्तिम समयमा गायिका तथा पूर्व संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको हो। त्रिपाठीलाई सूर्य चिन्ह नलिएको अवस्थामा सहयोग नगर्ने निर्णय एमाले कार्यकर्ताले गरेपछि पार्टी आफ्नै उम्मेदवार खडा गर्न बाध्य भएको बताइएको छ।

२०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य बनेकी सिन्धु अब अर्बपति व्यवसायी विनोद चौधरीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएकी छन्। अन्तिम समयमा निर्णय भएकाले आफ्नो उम्मेदवारी आकस्मिक रहेको उनले बताएकी छन्।

प्रतिस्पर्धाको केन्द्रमा चौधरी

यसपटक सबै दल आ–आफ्नै उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएका कारण अघिल्लो निर्वाचनलाई आधार बनाएर नतिजा अनुमान गर्न कठिन रहेको स्थानीय विश्लेषक बताउँछन्। यद्यपि समानुपातिक मतका आधारमा काँग्रेस अझै बलियो देखिन्छ।

रास्वपाको देशव्यापी लहर र काँग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका विक्रम खनालले कति प्रभाव पार्छन् भन्ने प्रश्न पनि उठेको छ। तर स्थानीयस्तरमा खनालले अघिल्लो चुनावमा समेत चौधरीलाई सहयोग नगरेको भन्दै यसपटक ठूलो असर पार्न नसक्ने विश्लेषण गरिएको छ।

समग्रमा हेर्दा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ मा काँग्रेस, एमाले र रास्वपाबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ। यद्यपि सबै कोणबाट चुनौती खेपिरहेका विनोद चौधरी अझै पनि बलिया उम्मेदवारका रूपमा देखिएका छन्।

थप समाचार

ताजा खबर