परासी, नवलपरासी – बालबालिकामा रोगको जोखिम कम गर्न नवलपरासीमा पहिलोपटक
स्वर्णबिन्दु प्राशन (आयुर्वेद औषधि) खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ। नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले मंसिर २२ गतेदेखि औपचारिक रूपमा अभियानको थालनी गरेको हो।
स्वास्थ्य केन्द्रकी डा. अर्चना शुक्लाका अनुसार पहिलो चरणमा १ हजार ५५ जना बालबालिकाले औषधि सेवन गरेका छन्। सोमबार सञ्चालन गरिएको अभियानमा ५०५ बालक र ५५० बालिकाले स्वर्णबिन्दु खाएका थिए। १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
स्वर्णबिन्दु प्राशन स्वर्णभष्म, मह र ब्राह्मीघृत मिसाएर तयार गर्ने आयुर्वेदिक औषधि हो, जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने चिकित्सकहरूको भनाइ छ।
डा. शुक्लाका अनुसार स्वर्णबिन्दु ‘पुष्य नक्षत्र’ का दिन मात्र खुवाइने भएकाले प्रत्येक महिनाको मिति पात्रोअनुसार फरक हुनेछ। आयुर्वेद स्वास्थ्य केन्द्रले सार्वजनिक गरेको तालिकाअनुसार आगामी खुवाइने दिनहरू यसप्रकार छन्–
पुष २१
माघ १८
फागुन १७
चैत १४
बैशाख १० (२०८३)
जेठ ६
असार ३
औषधि थोपाका रूपमा तयारी दिनमै गर्नुपर्ने भएकाले परासीस्थित स्वास्थ्य केन्द्रमै बिहान ७ बजेबाट १० बजेसम्म सेवा प्रदान गरिनेछ। बजेट अभावका कारण एक वर्षमा आवश्यक १२ चोटीकाे सट्टा यस वर्ष ६ पटक मात्र औषधि खुवाइने स्वास्थ्य केन्द्रले जनाएको छ।
जिल्लामा पहिलो पटक सुरु भएको यो कार्यक्रमलाई आगामी वर्ष बजेट व्यवस्थापन भएमा निरन्तरता दिने स्वास्थ्य केन्द्रले जनाएको छ।

