19.3 C
Parāsi
Monday, November 17, 2025
spot_img

डा. यादवप्रसाद पन्तको सतबार्षिकीय समारोहको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पसले डा. यादवप्रसाद पन्तको सतबार्षिकीय समारोहको उपलक्ष्यमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। कार्यक्रममा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान, नेपालका केन्द्रीय सदस्य एवं पाल्ही बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कैलाश ठाकुर प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा १३ जना विद्यार्थीले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। सहभागीमध्ये प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ प्रदान गरिएको थियो।
प्रथम ज्योती भुज , द्वितीय पुष्पा हरिजन र तृतीय प्रिती वनिया भएका थिए । साथै प्रत्येक सहभागीलाई तीन सय रुपैयाँका दरले प्रोत्साहन राशि वितरण गरिएको क्याम्पसले जनाएको छ।

क्याम्पसले प्रत्येक वर्ष झण्डै १४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ। डा. पन्तका स्व. पिता विष्णु प्रसाद पन्त र स्व. माता भिष्मकुमारी पन्तको नाममा स्थापना भएको छात्रवृत्ति २०६० देखि २०६७ सम्म वार्षिक ६ हजारका दरले दुई जनालाई प्रदान हुँदै आइएको थियो। उक्त अवधिमा १६ जनाले छात्रवृत्ति प्राप्त गरे। २०६८ देखि भने डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान, नेपालमार्फत वार्षिक ३६ हजारका दरले ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

प्रमुख अतिथि ठाकुरले डा. यादवप्रसाद पन्त नेपालको आधुनिक अर्थतन्त्रका आधारशिला–निर्माता, अन्तर्राष्ट्रिय पहिचान बनाउने प्रथम नेपालीमध्ये एक, विद्वान प्राध्यापक, कुशल प्रशासक, पूर्व राष्ट्र बैंक गभर्नर, सफल कूटनीतिज्ञ तथा इमानदार राजनीतिज्ञको रूपमा परिचित रहेको बताउनुभयो। उहाँका अनुसार समाजसेवा, साहित्य, संस्थागत विकास तथा राष्ट्रहितप्रति पन्तको समर्पण असाधारण थियो, जसको स्मरण र अध्ययन युवापुस्ताले अवश्य गर्नुपर्ने आवश्यकता छ।

कार्यक्रममा करीब २०० जना विद्यार्थीको उपस्थिति रहेको थियो।
क्याम्पस प्रमुख दीपक अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले डा. पन्त बहुप्रतिभाशाली, इमानदार र राष्ट्रसेवक व्यक्तित्व रहेको उल्लेख गर्दै राष्ट्रनिर्माणका विविध क्षेत्रमा उहाँका योगदान अनुकरणीय रहेको बताए।

थप समाचार

ताजा खबर