चैत २ । पश्चिम नवलपरासीका ११ जना उद्यमीलाइ घरेलु तथा साना उद्योग कार्यालयले सम्मान गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा स्वदेशी बस्तु वा स्थानीय कच्चा पदार्थ प्रयोग गरी सन्चालन गरी नमुना तथा उदाहरणीय काम गरीरहेका उद्यमीलाई सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
सम्मानित हुनेमा दया दुना टपरी उद्योग बर्दघाट २ की उद्यमी दया दर्लामी, लक्ष्मी पटेर उद्योग बर्दघाट १५ की उद्यमी खेमकुमारी गुरौ थारु, दिदीबहिनी टपरी उद्योग सुनवल ३ की उद्यमी शान्ति पुन र दुर्गा बेल तथा फलफूल प्रशोधन उद्योग सुनवल ६ की उद्यमी टिका तिवारी रहनुभएको छ ।
यस्तै न्यू फेमस हस्तकला तालिम सेन्टर सरावल ३ की उद्यमी गरिमा कुमारी चौधरी, मनकामना कृषि फर्म बर्दघाट १३ का उद्यमी होमनाथ ज्ञवाली, सफल गाउँ कृषि फर्म रामग्राम १० का उद्यमी उमाशंकर चौधरी पनि सम्मानित हुनुभएको छ ।
प्रतापपुर गाउँपालिका २ स्थित टुईन्स गार्मेन्ट उद्योगका उद्यमी योगमाया गुरुङ,सिएम फर्टिलाइजर उद्योग रामग्राम १० का उद्यमी छोटेलाल अग्रहरी र हिट गार्मेन्ट उद्योग सरावल ३ की उद्यमी सरस्वती चौधरी पनि सोही अवसरमा सम्मानित हुनुभएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पौडेल लगायतले दोसल्ला र प्रमाणपत्रले उद्यमीहरुलाई सम्मान गर्नुभएको कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो ।